
पूर्णपुष्टि, भदौ २० गते ।
जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोेगमा काठमाडौंबाट एक महिला पक्राउ परेकी छिन् । मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुरको बालकुमारी बस्ने ३८ वर्षीय मिना सुब्बा पक्राउ परेकी हुन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसान्धानको कार्यालयको टोलीले सुविधानगरबाट पक्राउ गरेको हो । उनले वर्किङ भिसामा जापान पठाइदिन्छु भन्दै पीडित व्यक्तिसँग १३ लाख रुपैयाँ लिएर सम्पर्कबिहीन भएकी थिइन् । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको अनुसन्धान कार्यायलयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।
