Monday, April 20News That Matters

जेनजी आन्दोलनका प्रत्येक घाइतेलाई २० हजार र मृतकको परिवारलाई १५ लाख रुपैँया राहत

पूर्णपुष्टि, कार्तिक ४ ।  जेनजी आन्दोलनमा घाइते भएकाहरूको उपचार खर्चका लागि सरकारले ४८ लाख ५८ हजार रुपैयाँ निकासा गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रतिवेदनअनुसार प्रत्येक घाइतेलाई २० हजार रुपैयाँका दरले रकम वितरण गर्न झापा, मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा पैसा पठाइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

मन्त्रिपरिषद्ले असोज १२ गते घाइतेहरूलाई तत्कालीन राहत उपलब्ध गराउने निर्णय गरेको थियो । प्राविधिक समितिले वर्गीकरण गरेपछि थप उचित राहतको व्यवस्था गरिनेछ ।

घाइतेको विवरण र उपचार

हालसम्म स्वास्थ्य मन्त्रालयले २ हजार ४२९ घाइतेको विवरण गृह मन्त्रालयलाई उपलब्ध गराएको छ । भदौ २३ र २४ गतेको प्रदर्शनमा घाइतेहरूलाई सहज उपचारका लागि २ हजार ८७६ परिचयपत्र जिल्ला प्रशासनमार्फत वितरण गरिएको छ । ३८ वटा परिचयपत्र अस्पतालबाटै दिइएको छ ।

पुनः उपचारका लागि विभिन्न अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा ल्याइएको छ । घाइतेलाई निःशुल्क आवतजावतको व्यवस्था पनि मिलाइएको छ । स्वास्थ्य मन्त्रालयले हटलाइन र सम्पर्क व्यक्ति तोकेर सहजीकरण गरेको छ ।

घाइतेको अवस्थाअनुसार वर्गीकरण गर्न प्राविधिक समिति गठन भइरहेको छ, जसमा घाइते प्रतिनिधि पनि सामेल हुनेछन् । सरकारले आन्दोलनका घाइतेहरूको निःशुल्क उपचार गरिरहेको छ । अहिलेसम्म एक अर्बभन्दा बढी रकम उपचारमा खर्च भइसकेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले गत बिहीबार स्वास्थ्य सचिव विकास देवकोटासहितको टोलीसँग घाइतेको अवस्थाबारे जानकारी लिँदै उपचारमा कुनै कमी नहोस् भनी निर्देशन दिएको सचिवालयले जनाएको छ ।

मृतक परिवारलाई राहत

गृह मन्त्रालयले आन्दोलनमा ज्यान गुमाएका ५३ जनाका परिवारलाई १५ लाख रुपैयाँका दरले आर्थिक सहायता पठाएको छ । ४९ परिवारले रकम बुझिसकेका छन्। बाँकी ४ परिवारलाई दिने प्रक्रिया चलिरहेको छ ।

मन्त्रिपरिषद्ले भदौ ३० गते मृतक परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता र ५ लाख रुपैयाँ काजकिरिया खर्चका लागि दिने निर्णय गरेको थियो ।

आन्दोलनमा जम्मा ७६ जनाको मृत्यु भएको थियो । यसमा नेपाल प्रहरी ३ सहित पहिचान खुलेका नागरिक ५३ जना छन् । १२ जनाको अझै पहिचान खुलेको छैन । कारागारबाट भाग्ने क्रममा गोली लागेर १० कैदीको मृत्यु भएको छ । एक विदेशीको पनि ज्यान गएको छ । आन्दोलनको मौका छोपी भाग्ने क्रममा मृत्यु भएका कैदीलाई यो रकम दिइने छैन ।