Monday, April 20News That Matters

राष्ट्रिय सम्मानसहित विपिन जोशीको अन्त्येष्टि

पूर्णपुष्टि, कार्तिक ४ । हमास समूहको बन्धकमा रहँदा ज्यान गुमाएका कञ्चनपुरका युवक विपिन जोशीको मंगलबार भुजेला घाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ । महाकाली नदी किनारमा रहेको भुजेला घाटमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले राष्ट्रिय झण्डा ओढाइदिनुभयो। सशस्त्र प्रहरीले सलामी दिँदै अन्त्येष्टिमा सम्मान प्रकट गरेको थियो ।

शवयात्रामा नेपालका लागि इजरायली दूतावासका कर्मचारीले पनि इजरायलको राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । यसअघि सोमबार काठमाडौं ल्याइएको जोशीको शव साँझ नेपाली सेनाको विमानमार्फत धनगढी विमानस्थल पुर्‍याइएको थियो । त्यसपछि धनगढी उपमहानगरपालिकाको शव वाहनमा राखेर भीमदत्त नगरपालिका–३ स्थित उनको घरमा ल्याइएको थियो ।

मंगलबार बिहान घरबाट सुरु भएको शवयात्रामा हजारौं स्थानीय बासिन्दा सहभागी भएका थिए । शवयात्रामा नेपालका लागि इजरायली राजदूत, पूर्वपरराष्ट्रमन्त्री एनपी सौद, विघटित प्रतिनिधिसभाका सदस्य तारा लामा तामाङलगायतको सहभागिता रहेको थियो । जोशी इजरायलमा कार्यरत रहेका थिए। हमास समूहले गत वर्ष असोज २४ गते इजरायलमा आक्रमण गरी बन्धक बनाएका उनको पछि मृत्यु भएको थियो । उनको शव लामो समयपछि नेपाल ल्याइएको हो ।