
पूर्णपुष्टि/उदयपुर, असोज २२ ।
जेनजी समुहको प्रदर्शनको क्रममा कारागारबाट फरार भएका एक कैदीले उदयपुरमा घर आएर हिजो आत्महत्या गरेका छन् । त्रियुगा नगरपालिका ८ शाहीखोला (राजाबास) का तुलबहादुर दनुवारका ३५ वर्षिया छोरा गम्भीरबहादुर दनुवारले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी राजन चापागाईले जानकारी दिनुभयो । एसपी चागाईका अनुसार दनुवारले कर्तब्य ज्यान मुद्दामा कैद सजाय भुक्तान गरिरहेका थिए । जेनजीको आन्दोलन भदौ २३ र २४ गते झुम्का कारागारबाट उनी फरार भएका थिए । फरार भएपछि घर आएका उनी घर नजिकैको सिसौको रुपमा झुण्डी मृत अवस्थामा फेला परेका थिए ।
सुनसरी जिल्ला अदालतले ०७७ चैत्र १३ गते कर्तब्य ज्यान मुद्दामा दोषी ठहर गरी कैद फैसला सुनाएको जनाइएको छ । २० वर्ष जन्मकैद तोकिएको थियो । आवश्यक कानूनी प्रकृयापछि उनको शब आफन्तलाई बुझाइएको प्रहरीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।