Wednesday, May 20News That Matters

टर्कीको भुकम्प प्रभावित क्षेत्रका २ नेपाली महिला अझै सम्पर्क विहिन

पूर्णपुष्टि, माघ २६ गते । गैरआवासीय नेपाली संघका अनुसार टर्कीको भूकम्प प्रभावित क्षेत्रमा रहेका २ जना नेपाली महिल अझै सम्पर्क विहिन रहेका छन् । भुकम्प प्रभावित क्षेत्रमा ३३ जना नेपाली रहेको पुष्टि भएको टर्की समेत हेर्ने पाकिस्तान स्थित नेपाली दुतावासले जनाएको छ ।

३१ जना नेपाली नागरिक दूतावासको सम्पर्कमा आईसकेका छन् भने २ जना सम्पर्कमा नआएको टर्कीमा रहेका गैरआवासीय नेपाली संघका महासचिव विनोद पौडेलले बताए । महासचिव पौडेलका अनुसार सम्पर्कमा आएका एक जना नेपाली समान्य घाइते छन् ।

सञ्चार सम्पर्क टुटेका कारण भूकम्पग्रस्त सबैठाउँमा सम्पर्क हुन नसकेको पौडेलको भनाई छ । उनीहरु त्यहाँ घरेलु कामदारको रुपमा काम गर्दै आएका थिए । भूकम्प गएको टर्कीको गाजियान्टेपमा कति नेपाली छन भन्ने यकिन तथ्यांक छैन । भूकम्पग्रस्त क्षेत्रमा नेपाली विद्यार्थी र घरेलु कामदार रहेकाछन् । कतिपय घरेलु कामदार गैरकानूनी रुपमा काम गरिरहेकाले सम्पर्क गर्न कठिनाई भएको पौडेलले बताए ।

भूकम्पग्रस्त क्षेत्रमा थप नेपाली हुनसक्ने अनुमान पाकिस्तानस्थित नेपाली दुतावासको छ । सम्पर्कमा आएका नेपालीका माध्यमबाट भूकम्पग्रस्त क्षेत्रमा रहेका अरु नेपालीका बारेमा बुझ्ने प्रयास भइरहेको दुतावासले जनाएको छ । सम्पर्कमा आएका अधिकांश नेपालीहरु सुरक्षित स्थान खोज्दै टर्कीको इस्तानबुल र अंकारा शहरतिर गइरहेकाछन् । समाचार संस्था रोयटर्सका अनुसार भूकम्पमा परेर १६ हजार मानिसको मृत्यु भइसकेको छ ।