Thursday, May 7News That Matters

टर्की र सिरियाका भूकम्प पीडितलाई रोनाल्डोको सहयोग

पूर्णपुष्टि, फागुन २४ ।पोर्चुगिज सुपरस्टार फुटबलर क्रिष्टियानो रोनाल्डोले सिरिया र टर्कीमा हालै आएको महाविनाशकारी भूकम्पका पीडितको सहायताका लागि ३ लाख ५० हजार अमेरिकी डलर बराबरको सरसामान सहयोग गरेका छन् ।

हाल साउदीको अलनासर क्लबबाट खेलिरहेको रोनाल्डोले भूकम्प प्रभावित क्षेत्रका दुःखद दृश्यहरुबाट भावुक हुँदै सहयोग र हेरचाहका लागि थुप्रै सामानहरुले भरिएको विमान त्यस क्षेत्रमा पठाएका छन् । रोनाल्डोले सिरिया र टर्कीमा मानवीय सहायताका लागि टेन्ट, खानेकुरा, लत्ता कपठा, शिशुका लागि खाना र दूध, चिकित्सकीय सामग्री लगायत सरसामानहरु पठाएका हुन् ।

सामाजिक कार्यमा लाग्दै आएका उनले यसअघि पोर्चुगलमा बालबालिकाको मस्तिस्क शल्यक्रियाका लागि ८३ हजार अमेरिकी डलर र क्यान्सर केन्द्र स्थापनाका लागि १ लाख ६५ हजार डलर दान गरेका थिए । रोनाल्डोले सेभ द चिल्ड्रेन, युनिसेफ र वर्ल्ड भिजनजस्ता संस्थाको सद्भावना दूत भएर पनि काम गरिसकेका छन् । कोरोना महामारीको समयमा पोर्चुगलका अस्पतारुलाई उनले १० लाख डलर सहयोगसमेत गरेका थिए ।