
पूर्णपुष्टि,माघ २९
सवारी दुर्घटनामा उदयपुरका एक पुरुषको मृत्यु भएको छ । सुनसरीको इटहरी–१७ मा बुधबार टिपरले मोटरसाइकललाई ठक्कार दिंदा दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालक उदयपुरको बेलका नगरपालिका–९ का ५४ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको टिपरले सोही दिशातर्फ आउँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदां चौधरी गम्भिर घाइते भएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताउनुभयो ।
सोही टिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३५ प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिएको थियो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङ बेलबारी–८ का ३८ वर्षीय होमनाथ बाँसकोटा र पछाडि सवार इटहरी–८ का ३७ वर्षीय नगेन्द्र अधिकारी सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
उनीहरुको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने सबै सवारी साधन र टिपर चालक सुनसरी रामधुनी नगरपालिका–३ का ३५ वर्षीय सलमकुमार सरदारलाई प्रहरीले नियन्त्रमा लिएको छ ।
