
पूर्णपुष्टि, जेठ २० । आजदेखी सुरु भएको आईसीसी टि–२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकारले जित हात पारेको छ । आईतबार बिहान घरेलु मैदान डालासमा भएको खेलमा अमेरिकारले क्यानाडालाई ७ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो ।
क्यानाडाले दिएको १९५ रनको पछ्याएको अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाउँदै पुरा गरेको हो । अमेरिकाको जितमा आरोन जोन्स ४० बलमा ४ चौका र १० छक्कासहित ९४ रनमा नट आउट रहे । एन्ड्रिस गौस ४६ बलमा ७ चौका र ३ छक्कासहित ६५ रनमा आउट भए । एक समय ६।३ ओभरमा ४२–२ को अवस्थामा पुगेको अमेरिकालाई सहज जित दिलाउन गौस र आरोन जोन्सले तेस्रो विकेटका लागि ५८ बलमा १३१ रनको सानदार शतकीय साझेदारी गरेका थिए ।
अमेरिकाको सुरुआत भने त्यति राम्रो हुन सकेको थिएन । कलिम सानाको दोस्रो बलमै स्टिभ टेलर शून्यमा एलबी डब्लू आउट भएका थिए । त्यसपछि कप्तान मोनांक पटेल डिलोन हेलिगरको बलमा एज लागेर १६ रनमा क्याच आउट भएका थिए । मोनांक पटेल आउट हुँदा अमेरिका ६।३ ओभरमा ४२–२ को अवस्थामा थियो । तर त्यसपछि जोन्स र गौसले पूरै खेलको माहोल नै परिवर्तन गरेका थिए ।
त्यसअघि टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो । क्यानडाका लागि दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले । ओपनर नवनित धालिवालले ६१ रन बनाएका थिए । उनले केवल ४४ बलको सामना गरी तीन छक्का र ६ चौका पनि प्रहार गरे ।
चौथो नम्बरका ब्याट्सम्यान निकोलस किर्तनले ५१ रन बनाए । उनले केवल ३१ बलको सामना गरी दुई छक्का र तीन चौका प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान श्रेयस मोभाले अविजित ३२ रन बनाए । उनले १६ बलमा दुई छक्का र दुई चौका प्रहार गरे । ओपनर ब्याट्सम्यान एरोन जोन्सनले २३ रन बनाए । अमेरिकाका बलर कोरी एन्डर्सन, हरमित सिंह र अली खानले एक–एक विकेट हात पारे ।
