Thursday, April 30News That Matters

डिएसपी सरुवामा प्रहरी माहानिरिक्षक थापाको मनपरी, शक्तिकेन्द्रमा पहुँच भएकाहरु ३ पटक सम्म जिल्ला ईन्चार्ज

पूर्णपुष्टि, कार्तिक २६
हालै नेपाल प्रहरीको ९७ प्रहरी नायव उपरिक्षक (डिएसपी) को सरुवा भएको छ । डिएसपीको सरुवामा नेपाल प्रहरीका माहानिरक्षिक शैलेश थापा क्षेत्री (एआईजी) ले आचार संहिता कुल्चेर डिएसपीहरुको सरुवा गरिररहेको आरोप लागेको छ । डिएसपी सरुवामा आफैले बनाएको आचारसंहिता र आफैले पालान गर्नु पर्ने नियमको धज्वी उडाएको भन्दै चर्को आलोचना भईरहेको छ । माहानिरक्षक थापालाई प्रधानमन्त्रीको सचिवालय र गृहमन्त्रीको दवामा लापर्वाही सरुवा गर्दै आचार संहिताको ध्वजी उडाएको आरोप छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाको दबाबमा डीएसपी अनिल घिमिरेको दम्पतीलाई नै इन्चार्ज बनाइएको छ । डीएसपी घिमिरेलाई महानगरीय प्रहरी वृत्त कालिमाटी र उनकी पत्नी शर्मिला गुरुङलाई पूर्वी नवलपरासीस्थित ईलाका प्रहरी कार्यालय नवलपुरको इन्चार्ज बनाइएको छ । भानुले घिमिरेलाई कालिमाटी पठाउन प्रहरी महानिरीक्षकलाई यसअघि ३ पटक फोन र म्यासेज गरेको चर्चा छ ।

सुदूरपश्चिमका काँग्रेस नेतालाई भनसुन गराएर डीएसपी नरेन्द्र चन्दले पनि दुई पटक इन्चार्ज बन्ने अवसर पाएका छन् । यसअघि महानगरीय प्रहरी वृत्त बौद्धको कमाण्ड गरेका चन्दलाई अहिले जुम्लाको इन्चार्ज बनाइएको छ ।

माहानिरिक्षक क्षत्रीले पहँुच भएकाहरुलाई राम्रा ठाउँमा सरुवा गरेको र पहुँच नभएकाहरुलाई शक्तिकेन्द्र बाट फोन गराउन लगाएको प्रहरीहरु नै बताउँछन् । शक्ति भएकाहरुलाई ३ पटक सम्म जिल्ला इन्चार्ज बनाईएको र शक्तिकेन्द्रमा पहुँच नभएका र लामो समयदेखि इन्चार्ज हुन नपाएका डीएसपीहरू यसपटक पनि सरुवामा छुटेका छन् । तर, शक्तिकेन्द्रमा पहुँच भएका डीएसपीहरूलाई भने आचारसंहिता लत्याउँदै आकर्षक ठाउँमा पोष्टिङ गरिएको छ ।

प्रहरी नियमावली–२०७१ र प्रहरी आचारसंहिता–२०७७ मा सरुवा, बढुवा र अन्य स्वार्थ पूरा गर्न बाह्य प्रभाव पार्न नहुने उल्लेख छ । डीएसपीले एकपटक जिल्ला इन्चार्ज र एकपटक ईलाका इन्चार्ज बन्न पाउनेगरी आन्तरिक कार्यविधि बनाएर प्रहरी प्रधान कार्यालयले लागू गरेको लामो समय भइसकेको छ । तर यो कार्यविधि यो हिसावले कुनै पनि हालतमा लागु भएको पाईन्न । प्रहरी महानिरीक्षक क्षेत्रीले नियम कानुनलाई अटेरी गर्दै पहुँचमा भएका डीएसपी सुमित खड्कालाई तेस्रो पटक जिल्ला इन्चार्ज बनाएका छन् । यसरी तेस्रो पटक सम्म शक्ति भएकाहरुलाई र पावर पहँुच नभएकाहरुलाई भने न बढुवा न राम्रो ठाउँमै सरुवा ।

यसअघि जुम्ला र रुकुम जिल्ला इन्चार्जको भूमिकामा रहेका खड्कालाई अहिले सल्यान जिल्लाको कमाण्ड गर्ने जिम्मेवारी दिइएको छ । डिएसपीलाई जिल्लामा एक पटक भन्दा बढी बस्न पाउने प्रावधान कार्यविधिमा छैन । तर पनि यो नियम विपरित पावरकै भरमा आचारसंहिताको ध्वजी उडाउने काम भईरहेको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारको कमाण्ड गरिसकेका डीएसपी कौशल बुढाथोकीलाई अहिले भृकुटीमण्डपस्थित नगर प्रहरी कार्यालयको इन्चार्ज बनाइएको छ ।

उपत्यकामै रहेर दोस्रो पटक इन्चार्ज पाउने अर्का डीएसपी हुन् गौतम मिश्र । यसअघि महानगरीय प्रहरी वृत्त सातदोबाटोको कमाण्ड गरेका मिश्रलाई अहिले बालाजु वृत्तको इन्चार्ज तोकिएको छ । बालाजुमा कार्यरत निर्मल बुढाथोकीलाई ९ महिनामै हटाएर उनको ठाउँमा मिश्रलाई पठाइएको हो । डीएसपी ठगबहादुर केसीलाई पनि दोस्रो पटक इन्चार्ज दिइएको छ । रुकुम पश्चिमको इन्चार्जबाट सरुवा भएको छोटो समयमै उनलाई ईलाका प्रहरी कार्यालय बुटवलको इन्चार्ज बनाइएको हो ।

यता कमाण्ड गर्नसक्ने क्षमता भएका र अवसर नपाएकालाई कमाण्ड गर्ने अवसर दिनुपर्ने सरुवा नीति भए पनि शक्तिकेन्द्र रिझाउन सक्नेहरुले लगातार कमाण्डको अवसर पाएका छन् । शक्तिशालीहरुले अवसर पाउँदा शक्तिकेन्द्रमा पहुँच नभएकाहरुचाहिँ निरीह बनेका छन् । शक्तिशालीहरुलाई ठाउँ दिन इप्रका मिर्चैयामा कार्यरत राजेन्द्र श्रेष्ठलाई ९ महिनामै तानिएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत डीएसपी दिपक गिरी ३ वर्षदेखि इन्चार्ज हुनबाट बञ्चित भएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पिएसओ बसेको आधारमा डीएसपी राजन लिम्बुलाई पनि इन्चार्ज हुने अवसरबाट बञ्चित गरिएको छ ।