
पूर्णपुष्टि, बैशाख २६ । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थी तथा अन्य नेपालीहरूको सुरक्षा सुनिश्चित गर्न नेपाल सरकारले आफू पूर्ण सचेत रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिमा पाकिस्तानस्थित नेपाली दूतावासले त्यहाँ रहेका सबै नेपालीहरूसँग निरन्तर सम्पर्कमा रही काम गरिरहेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘हालै विकसित घटनाक्रमका सन्दर्भमा पाकिस्तानमा अध्ययनरत् नेपाली विद्यार्थी एवं अन्य नेपालीहरूको सुरक्षा तथा हित सुनिश्चित गर्ने तर्फ नेपाल सरकार पूर्ण रूपमा सचेत छ ।’
केही विद्यार्थी संघसंस्थाहरूले पाकिस्तानमा रहेका नेपाली विद्यार्थीहरू जोखिममा रहेको भन्दै तिनलाई स्वदेश फिर्ताको पहल गर्न माग गरेका थिए । यसैबीच मन्त्रालयले कुनै पनि सहयोग आवश्यक परेमा तत्काल सम्पर्क गर्न सक्ने व्यवस्था मिलाएको छ । यसका लागि दूतावासका कर्मचारीहरूलाई विशेष जिम्मेवारी दिइएको छ ।
पाकिस्तानमा रहेका नेपालीहरूको संख्या यकिन नभए पनि, अधिकांश विद्यार्थीहरू मेडिकल र इन्जिनियरिङ विषयमा अध्ययनरत रहेको अनुमान गरिएको छ । दूतावासले सबै नेपालीहरूको अवस्था सुरक्षित रहेको र आवश्यक परेमा थप कदम चाल्ने जानकारी दिएको छ ।

