Friday, May 22News That Matters

तलब नपाउँदा उदयपुर सिमेन्ट उद्योगका मजदुरहरूको जीवनयापनमा समस्या

पूर्णपुष्टि/उदयपुर, जेठ ८ ।
उदयपुर सिमेन्ट उद्योग लिमिटेडमा कार्यरत कर्मचारी तथा मजदुरहरूले लामो समयदेखि रोकिएको तलब, सञ्चयकोष, नागरिक लगानी कोष र बीमा रकम तत्काल उपलब्ध गराउन माग गरेका छन् । आज पत्रकार सम्मेलन आयोजना गरी प्रेस नोट जारी गर्दै यस्तो माग गरेका हुन्।
सम्पूर्ण मजदुर संघर्ष समितिद्वारा जारी प्रेस नोटअनुसार नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग लिमिटेडले २०७९ माघदेखि व्यावसायिक उत्पादन सुरु गरे पनि पछिल्ला तीन वर्षदेखि न्यून उत्पादन गर्दै आएको जनाएको छ। उद्योगको कमजोर व्यवस्थापनका कारण कर्मचारी तथा मजदुरहरू आर्थिक समस्यामा परेको समितिको आरोप छ।
प्रेस नोटमा उद्योगले कर्मचारी मजदुरहरूको १४ महिनाको तलब ज्याला हालसम्म भुक्तानी नगरेको उल्लेख गरिएको छ। त्यस्तै ४५ महिनादेखि तलबबाट कट्टा गरिएको सञ्चयकोष रकम र ३५ महिनादेखि कट्टा गरिएको नागरिक लगानी कोष रकम सम्बन्धित निकायमा जम्मा नगरिएको जनाइएको छ। तीन किस्तासम्मको बीमा प्रिमियम रकमसमेत उद्योगले उपलब्ध नगराएको मजदुरहरूको भनाइ छ।
समितिका अनुसार आर्थिक अभावका कारण मजदुरहरूको दैनिक जीवनयापन कठिन बन्दै गएको छ भने केही कर्मचारी मजदुर बिरामी अवस्थामा रहेका छन्। हालसम्म ८ जना कर्मचारी मजदुरको मृत्यु भइसकेको पनि प्रेस नोटमा उल्लेख छ।
त्यस्तै २०७८ सालदेखि अनिवार्य अवकाश पाएका १३२ जना कर्मचारी मजदुरहरूले पाउनुपर्ने सेवा–सुविधा अझै प्राप्त गर्न नसकेको गुनासो गरिएको छ। उद्योगमा कार्यरत मजदुरहरूले सम्बन्धित मन्त्रालयमा पटक–पटक ध्यानाकर्षण गराए पनि समस्या समाधानका लागि कुनै ठोस पहल नभएको समितिले जनाएको छ।
मजदुर संघर्ष समितिले सरकार तथा सम्बन्धित निकायलाई मजदुरका समस्याप्रति गम्भीर बन्न आग्रह गर्दै बक्यौता सेवा–सुविधा तत्काल उपलब्ध गराउन माग गरेको छ।