Friday, May 22News That Matters

गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा : सडक सुरक्षाको विशेष सन्देश

पूर्णपुष्टि/उदयपुर जेठ -८
उदयपुरमा पछिल्लो समय सुरक्षित सडकका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन भइरहेका छन् । यही अभियानलाई निरन्तरता दिँदै भोलि गाईघाटदेखि कटारीसम्म महिला राईडरहरूको विशेष यात्रा आयोजना गरिने भएको छ। महिला बाइक राइडर उदयपुरको आयोजना तथा सुरक्षित सडक अभियान उदयपुर र जिल्ला ट्राफिक कार्यालय उदयपुरको समन्वयमा कार्यक्रम हुने भएको हो।
सुरक्षित सडक अभियान अन्तर्गत महिला राईडरहरूले विभिन्न स्थानमा होडिङ बोर्ड राख्ने, सडक सुरक्षासम्बन्धी सन्देश प्रवाह गर्ने तथा चालक र यात्रुहरूलाई सचेत बनाउने कार्यक्रम तय गरिएको अभियानकर्मी जानुका कार्कीले बताउनुभयो । यात्राका लागि गाईघाटस्थित पिपलचोकमा  राईडर टोली जम्मा हुने र यात्रा सुरु गरिने अभियानकर्मी शशिका राईले बताउनुभयो । अभियान टोलीसँगै यात्रामा सहभागी भइदिन समेत उहाँले आग्रह गर्नुभएको छ ।
अभियान अन्तर्गत सडक दुर्घटनाको उच्च जोखिम रहेका क्षेत्रमा “शुभ यात्रा” कार्यक्रम सञ्चालन हुँदै आएको छ। उक्त कार्यक्रममा चालक तथा यात्रुहरूलाई सुरक्षित यात्राका लागि आवश्यक सुझाव, ट्राफिक नियम पालना र सावधानीका विषयमा जानकारी दिने गरिएको छ।
सडकमा सञ्चालन हुने “शुभ यात्रा” अभियान प्रभावकारी बन्दै  गएको छ। अभियान सुरु भएयता अत्यधिक दुर्घटना हुने क्षेत्रहरूमा दुर्घटनाको दर घट्दै गएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख प्रहरी निरीक्षक दानबहादुर मिरिङचिङले बताउनुभयो । स्थानीय स्तरमा सडक सुरक्षाप्रति जनचेतना बढेसँगै अभियानले सकारात्मक परिणाम दिन थालेको र यो अभियान निरन्तर जारी रहने अभियानकी संयोजक रमा मगरले बताउनुभयो ।