
पूर्णपुष्टि,असार २६ । उदयपुरको त्रियुगा नगरपालिका–३, मोतिगडाका स्थानीय २४ वर्षीय करुणा राईलाई सुतिरहेको अवस्थामा तातोपानी खन्याईएको आरोपमा पक्राउ परेकाहरुलाई स्थानीय राजनैतिक दलको दबाबमा छाडिएको भन्दै पिडित पक्षले गुनासो व्यक्त गरेको छ । गत असारको १६ गते पिडित राईलाई सुतिरहेको अवस्थामा सोहि वडाका भुल्के स्थित सिसौघारी टोलका बस्ने ४० वर्षीय केशब मगर, उनको श्रीमती ३८ वर्षीय मिना मगर र उनकै छोरा २०वर्षीय प्रविण मगरले तातोपानी खन्याईएको थियो ।
पिडित राईका अनुसार घटना घटेको पाँच दिनपछि उनिहरु पक्राउ परेको थियो । हाल उनिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय उदयपुरमा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको जनाएको छ । उनिहरुलाई पक्राउ पछि केही समय राखेर प्रहरीले छोडेको खबरले पिडित महिला झन पीडा र क्रासमा बाँचिरहेको उनको काका बिनोद राईले बताए । उनका अनुसार पक्राउ गरेकाहरुलाई केही स्थानीय नेताहरुको दबाबमा छोडिएको थियो ।
जिल्ला प्रहरी कार्यालय उदयपुरको प्रहरी नायक उपरीक्षक (डिएसपी) हरिनन्दन चौधरीले पिडित पक्षबाट घटनाको बारेमा समयमा कुनै किसिमको उजुरी नआएकाले उनिहरुलाई छाडिएको बताए । उनका अनुसार प्रहरीले पीडित महिलाको स्वास्थ्य अवस्था बुझिरहेको र अहिले किटानी जाहेरी समेत आएकोले उनिहरुको खोजि कार्य भईरहेको छ ।
