Monday, May 4News That Matters

पालिका केन्द्र जोड्ने पुल रद्द गरेकोमा रौतामाईको आपत्ति

पूर्णपुष्टि, असार २६ । उदयपुरको रौतामाई गाउँपालिकाको वडा नं. २ स्थित रसुवा खोलाढुङ्गे पुलको १० करोड ८० लाख बजेट प्रदेश सरकारले रद्द गरेर पालिकाबासीलाई अन्याय गरेको छ । वर्षामा आवत–जावतमा खोलाको समस्या रहेकोमा बहुवर्षिय आयोजना अन्तर्गत पुल बन्ने कुराले त्यहाँका बासिन्दा खुसी थिए तर, हिक्मतकुमार कार्की नेतृत्वको प्रदेश सरकारले बजेट रद्द गरिदिँदा पिडा ज्युका त्युँ बनेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट श्रोत सुनिश्चित भइसकेको अवस्थामा मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्रीस्तरको निर्णय भन्दै प्रदेश सरकारले पुल निर्माणको आयोजना रद्द गरेको थियो । प्रदेशको आर्थिक मामिला तथा योजना मञ्त्रालयले गत जेठ ३१ गते भौतिक पूर्वाधार विकास मञ्त्रालयलाई पत्र काट्दै योजना रद्द गरेको जानकारी दिएको थियो ।

पालिका केन्द्र आउजाउ गर्ने मुख्य नाकाको पुल योजना रद्द हुँदा पालिकाबासी दुःखी बनेका छन् । ठेक्का लागेर, प्राविविध प्रस्तावसमेत खुलिसकेको अवस्थामा आर्थिक प्रस्ताव खुल्न नदिइ रद्द गरेको हो । दुर्गमको गाउँपालिका र त्यहाँका बासिन्दामाथि तत्कालिन सरकारले पूर्वाग्रह राखेर योजना रद्द गरेको पालिका अध्यक्ष बिरेन्द्रकुमार मगरले बताए । जनताको दुःख नबुझेकोमा अध्यक्ष मगरले दुःख ब्यक्त गरे । प्रदेश सरकारको यस कार्यप्रति समस्त पालिकाबासी दुःखित भएको पनि उनले बताए ।