Friday, May 22News That Matters

ताप्ली गाउँपालिकाले टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै वडामा बजेट नपाठाउने

पूर्णपुष्टि,असार ७ । उदयपुरको ताप्ली गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विगतमा जस्तो वडागत रुपमा बजेट नपठाउने भएको छ । वडाबाट सञ्चालन हुने साना र टुक्रे योजनाको उपलब्धि नदेखिएको भन्दै यस्तो निर्णय गरिएको हो ।

गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विश्वकर्माका अनुसार पालिकाले यही असार १० गते कूल ३६ करोडको बजेट ल्याउने तयारी गरेको छ । समग्रमा पालिकाभरिका योजना एकीकृतरूपमा छनोट गरी ठूला र प्रभावकारी योजना निर्माणसहित बजेट विनियोजन गरिने उनको भनाइ छ ।

पालिकाको भौगोलिक विकटतालाई ध्यान दिँदै दिगो विकासका लागि ठूला र महत्वपूर्ण योजना पालिकास्तरबाटै सञ्चालन गर्न यस्तो निर्णय गरेको हो । बजेट गत वर्षभन्दा घटेर आएको र वडास्तरबाट साना योजना मात्रै माग भई आएकाले प्रभावकारिता नदेखिने हुँदा वडागतरुपमा बजेट माग नगरिएको ताप्ली–१ का वडाध्यक्ष उद्धव हमालले बताए । ताप्लीमा पाँच वडाहरु अवस्थित छ ।

गाउँपालिकामा वित्तीय समानीकरण अनुदान शीर्षकअन्तर्गत सात करोड ५५ लाख, सशर्त अनुदान शीर्षकअन्तर्गत १८ करोड, विशेष अनुदानतर्फ एक करोड नौ लाख र समपूरक अनुदान पूँजीगततर्फ २६ करोड बजेट विनियोजन गरिँदै छ । चालु आवको तुलनामा आगामी आवका लागि दुई करोड ३६ लाख कम बजेट विनियोजन गरिएको छ ।