
पूर्णपुष्टि, जेठ २६ गते ।
सोलुखुम्बुको लोखिममा तामझामका साथ भईरहेको बालविवाह रोकिएको छ । थुलुङ दूधकोशी गाउँपालिका–९, लोखिममा तामझामका साथ भइरहेको बालविवाह आईतबार जनप्रतिनिध र प्रहरीले रोकेको हो ।
तामझामका साथ दुलहीको घरमा दुलहासहित जन्ती आएको गोप्य सूचना पाएपछि जनप्रतिनिधि र प्रहरी पुगेर बालविवाह रोकेको प्रहरीले जनाएको छ ।
लोखिमका एक १९ वर्षीय युवक र १६ वर्षीया युवतीबीच दुवैको मञ्जुरीमा नै विवाह भइरहेको थियो । प्रहरी र जनप्रतिनिधि बेहुलीको घरैमा पुगेर दुवै पक्षलाई सम्झाइबुझाइ गरेर विवाह रद्द गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १७३ को उपदफा २ मा २० वर्ष नपुगी मञ्जुरीमा नै गरिएको विवाहलाई कानून विपरीत मानिएको छ । उमेर नपुगी भएको विवाह स्वतः रद्द हुनेसमेत उल्लेख गरिएको छ । साथै उपदफा २ मा विवाह गर्ने गराउने व्यक्तिलाई समेत तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवाना हुनसक्ने व्यवस्था रहेको छ ।
