Sunday, April 19News That Matters

तिहारमा सयपत्रीको मूल्य बढ्ने, १५ लाख माला भारतबाट आयात गरिने

पूर्णपुष्टि, कार्तिक १० ।  वर्षाका कारण फूल उत्पादनमा क्षति पुगेपछि यस वर्षको तिहारमा सयपत्री फूलको मूल्य बढ्ने भएको छ । गत वर्ष प्रतिमाला रु ६५-७० मा बिक्री भएको सयपत्री यस वर्ष रु ८०-८५ सम्म पुग्ने फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष दिलीप बादेले बताए ।

असोज ११ र १२ गते परेको अविरल वर्षाले करिब रु १५ करोडको फूल नष्ट भएको छ । यस वर्ष ४० लाख मालाको माग रहेकोमा स्वदेशी उत्पादनले २५ लाख माला मात्र धान्न सक्ने भएकाले बाँकी १५ लाख माला भारतबाट आयात गर्न लागिएको हो । बजार मागको ६० प्रतिशत फूल काठमाडौं उपत्यकामा खपत हुने गरेको छ । गत वर्ष ३३ लाख माला खपत भएकोमा यस वर्ष सात लाख बढी माग बढेको छ ।

मखमली र गोदावरी फूल स्वदेशी उत्पादनले धान्ने भए पनि सयपत्री र रातो गुलाब भने भारतबाट आयात गर्नुपर्ने बाध्यता कायमै छ । हाल नेपालमा २२१ हेक्टर क्षेत्रफलमा १,१८४ व्यवसायीले ४५० प्रजातिका फूल खेती गर्दै आएका छन् । यस व्यवसायबाट ४४ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष-अप्रत्यक्ष लाभ लिइरहेका छन् ।