Friday, May 15News That Matters

तीनपाङ्ग्रे सवारीको लाइसेन्स उदयपुरमै पाउदा चालकहरु खुसी

पूर्णपुष्टि, माघ २८ ।
यातायात व्यवस्था सेवा कार्यालय, गाईघाटबाट उदयपुरमै धमाधम सवारी अनुमती पत्र (लाइसेन्स) बन्न थालेपछि सबैभन्दा बढि खुसी तीनपाङ्ग्रे सवारी चालकहरु देखिएका छन् ।
विना लाइसेन्स टेम्पो, अटो रिक्सा चलाउन दुःख पाएका उनीहरु आप्mनै ठाउँमा लाइसेन्स पाउदा खुसी मात्र छैनन् ढुक्क पनि भएका छन् । जिविकोपार्जनका लागि विना लाइसेन्स नै तीनपाङ्ग्रे सवारी चलाउदै आएकाहरुले धमाधम लाइसेन्स लिन थालेको सिटि सवारी यातायात सञ्चालक समितिका अध्यक्ष जयप्रसाद आचार्यले बताए । यहाँबाट लाइसेन्स पाउने ब्यवस्था नहुँदा सुनसरीको इटहरी, सिरहाको लहान जानुपर्ने बाध्यता थियो । ती ठाउँहरुमा धाउन सजिलो थिएन । पटक पटक धाउनु पर्ने हुँदा समय र पैसाको ठूलो खर्च हुने गरेको थियो ।
यातायात ब्यवस्था सेवा कार्यालय उदयपुरका सुचना प्रविधि अधिकृत सुवास अधिकारीका अनुसार हालसम्म ६० जनाले तीनपाङ्ग्रे सवारीको लाइसेन्स प्राप्त गरेका छन् । उनीहरुले प्रयोगात्मक परिक्षा पास गरी लाईसेन्स प्राप्त गरेका हुन् ।
भोजपुर, खोटाङ जिल्लालाई उदयपुरमा लाइसेन्स लिन सजिलो र सुविधा भएको छ । त्यस बाहेक अन्य टाढा जिल्लाहरुबाटसमेत लाइसेन्सका लागि आउने गरेका छन् ।
उदयपुरबाट सबैखाले सवारी साधनको लाइसेन्स बन्ने गरेको छ । सेवा कार्यालय स्थापना भएको ६ वर्षपछि नयाँ लाइसेन्स दिने सेवासमेत सुरु भएको हो । अढाई महिनादेखि सुरु भएको यो सेवा पश्चात विभिन्न सवारीको लाइसेन्स प्राप्त गर्नेको कुल सङ्ख्या २ हजार ८७२ जना रहेको कार्यालयले जनाएको छ । जसमा सबैभन्दा बढि मोटरसाईकलको १ हजार ९२५, स्कुटिको ४७८, चारपाङ्ग्रे साना सवारीको ३९४ जनाले लाइसेन्स प्राप्त गरेका छन् । त्यस्तै ठूलो सवारीको ४ र ट्याक्टरको ११ जनाले लाइसेन्स प्राप्त गरेका छन् ।
कार्यालयले लाइसेन्सका लागि नियमितरुपमा लिखित तथा प्रयोगात्मक परिक्षा सञ्चालन गर्दै आएको छ ।