Thursday, April 23News That Matters

तीनपाङ्ग्रे सवारी चालकहरु सम्मानित

पूर्णपुष्टि, कात्तिक २८ ।

चारजना असल चालकहरुलाई विहिबार उदयपुरमा सम्मान गरिएको छ । गाईघाटमा आयोजित तीन पाङ्ग्रे सवारी चालकहरुलाई ट्राफिक सचेतना तथा चालक सम्मान कार्यक्रममा अनुशासित रुपले चालकको काम गर्दै आएका तीन पाङुग्रे सवारी साधन (टेम्पो) का चालकहरुलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा त्रियुगा नगरपालिका ७ चुहाडेका सविन ढकाल, महिला चालक त्रिनपा ११ की देविका सार्की, त्रिनपा १० का लोलानाथ रिजाल र त्रिनपा ५ को विष्णुदेव दास रहेका छन् । चालक रिजाल जिल्लाकै पहिलो तीनपांग्रै स्वरोजगारी चालक हुन् । चालक दास श्रीमती सुनैनादेवीको नामबाट निकालिएको टेम्पोको नियमित किस्ता तिर्ने चालक हुन् ।

हंशराज हुलासचन्द एण्ड कम्पनी प्राईभेट लिमिटेडको सहयोग तथा कालीका अटो लिंक गाईघाटको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसी, कालिका अटोे लिंकका प्रोपाईटर सुनिल कुमार ठाकुर र कम्पनी प्रतिनिधि विरेन्द्र चौधरीले चालकहरुलाई सम्मान गरेका थिए । सम्मानित चालकहरुलाई खादा ओढाई सम्मान पत्र प्रदान गरिएको थियो ।

सिटी सवारी यातायात प्रा.लि. उदयपुरको सहजिकरण तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको विशेष समन्वयमा कार्यक्रम भएको हो । कार्यक्रमले चालकहरुलाई असल र अनुशासित बन्न प्रेरणा मिलेको सिटि सवारी यातायात प्रा.लि.का अध्यक्ष जयप्रसाद आचार्यले बताउनुभयो । यसले चालक पेशालाई सम्मानित पेशाको रुपमा झल्काएको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा ट्राफिक सचेतना, यातायात सेवा, विमा लगायतको विषयमा चर्चा गरिएको थियो । विमाको महत्व र आवश्यकताको बारेमा सिद्धार्थ इन्स्योरेन्स शाखा गाईघाटका प्रमुख राजेन्द्र अधिकारीले बोलेका थिए । यातायात व्यवस्था सेवा कार्यालय, उदयपुरका अधिकृत योगेश खनालले यातायात क्षेत्रको निती नियमको बारेमा जानकारी दिएका थिए भने जिल्ला ट्राफिक इन्चार्ज दिनेशकुमार चौधरीले ट्राफिक सचेतनाको बारेमा बोलेका थिए । अटो लिंक गाईघाटका मेनेजर उद्धव अधिकारीले सञ्चालन गरेको कार्यक्रम प्रभावकारी भएको सहभागिहरुले बताए ।