
पूर्णपुष्टि,माघ २
दक्षिणपूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यूनचापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । देशभरको मौसममा अझै तीन दिन आंशिकदेखि सामान्य बदली हुने देखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदलिइरहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने विभागले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।
दिउँसो प्रदेश नं १, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका धेरै भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली हुनुका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
