
पूर्णपुष्टि, साउन १५ । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानको होस्टलबाट करिब तीन वर्षअघि बेपत्ता भएका विद्यार्थी राजेश शाही अहिलेसम्म फेला परेका छैनन्। सानोभर्याङस्थित संस्थानको होस्टलमा बसेर एमबीबीएस चौथो वर्षमा अध्ययनरत २३ वर्षीय शाही १७ भदौ २०७८ मा बेपत्ता भएका थिए।
राजेशका बुबा दानबहादुर शाहीले छोराको खोजीका लागि जंगीअड्डा, नेपाल प्रहरीदेखि केन्द्रीय अनुसन्धान ब्यूरोसम्म गुहारेका छन्। उनले प्रहरी, जिल्ला प्रशासन कार्यालय काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोगदेखि प्रधानमन्त्री, सभामुख र चारवटै दलका सचेतकसम्मलाई पटकपटक गुहार लगाएका छन्। तर अहिलेसम्म कुनै सफलता हात लागेको छैन।
शाहीले आफूले १६ वर्ष जागिर खाएको नेपाली सेनामा कार्यरत उच्च अधिकृतहरुसँग छोराको खोजी गरिपाउँ भन्दा पाएको रुखो व्यवहारप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनले पेन्सन र बैंकमा सुरक्षागार्डको काम गरेर आएको पैसा जति सबै कलेजमा बुझाएको र अहिले न छोरो न धनसम्पत्ति रहेको बताए।
राजेशले अन्तिम पटक १६ भदौ २०७८ को राति ८ बजेतिर आमासँग फोनमा कुरा गरेका थिए। त्यसपछि उनको कुनै सम्पर्क भएको छैन। शाहीले सैनिक कलेजको लापरबाहीप्रति प्रश्न उठाएका छन्। उनका अनुसार कलेजका तत्कालीन वार्डेनले पाँचौं दिनमा मात्र फोन गरेर राजेश त्यहाँ नभएको जानकारी गराएका थिए।
नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले शाहीको खोजीका लागि नेपाल प्रहरीलाई संलग्न गराइएको र निरन्तर पत्राचार गरिरहेको बताए। तर अहिलेसम्म कुनै उपलब्धि हासिल नभएको उनले स्वीकारे। अनुसन्धानमा संलग्न केन्द्रीय अनुसन्धान ब्यूरोका एक अधिकृतका अनुसार, जाँचका क्रममा १७ भदौमा एक जना युवक कलेजको गेटबाट बाहिर निस्किएको देखिएको छ। ती व्यक्ति राजेश हुनसक्ने आशंका प्रहरी अधिकृतहरुले गरेका छन्। तर बुबा दानबहादुरले त्यो व्यक्ति आफ्नो छोरा नभएको दाबी गरेका छन्।
राजेशको परिवारले २४ घण्टा निगरानी र सुरक्षा घेरामा हुने सेनाको होस्टलबाट विद्यार्थी आफूखुशी गयो भन्ने जवाफप्रति प्रश्न उठाएको छ। उनीहरुले सेनाको कलेजबाट एउटा विद्यार्थी आफूखुशी त्यति राति कसैको जानकारीबिना बाहिर निस्कियो भन्ने जवाफ गैरजिम्मेवार रहेको बताएका छन्।
