Wednesday, April 22News That Matters

पूर्वाधार अभावमा घाँसे मैदानमा परिणत पोखरा लेखनाथ रंगशाला

पूर्णपुष्टि, साउन १५ । पोखरा लेखनाथ रंगशाला निर्माण सुरु भएको आठ वर्ष बितिसक्दा पनि पर्याप्त पूर्वाधारको अभावमा घाँसे मैदानमा परिणत भएको छ। फुटबल, भलिबल, करातेलगायत विभिन्न खेलका खेलाडीहरू अभ्यासका लागि त्यहाँ पुग्ने गरे पनि उचित सुविधाको अभावमा समस्या भोग्न बाध्य छन्।

बहुउद्देशीय कभर्ड हल अलपत्र परेको कारण इन्डोर खेलहरू पनि खुला मैदानमै गर्नुपर्ने बाध्यता रहेको छ। वर्षायाममा रंगशालाको ट्र्याक हिलाम्मे हुने हुँदा खेलाडीहरूले दौडन समेत पाउँदैनन्। आदर्श युवा क्लबका अध्यक्ष पदम गुरुङका अनुसार रंगशालामा बनेका संरचनाहरू अलपत्र परेका छन् र ट्र्याक मापदण्ड अनुसारको छैन। हाल ठूला खेल प्रतियोगिताहरू सञ्चालन गर्न सकिने अवस्था नरहेको उनले बताए।

पोखरा महानगरको खेलकुद विकास समितिका पदाधिकारीहरूले बजेट अभावले रंगशाला पूर्ण रूपमा बन्न नसकेको जनाएका छन्। आठ वर्षअघि सुरु गरिएको बहुउद्देश्यीय कभर्ड हल निर्माण पनि बजेट अभावमै तीन वर्षदेखि ठप्प छ। स्थानीय वडाध्यक्ष श्रीप्रसाद गुरुङले रंगशालाको पूर्वाधार विकासका लागि महानगर, प्रदेश र संघ सरकारको संयुक्त लगानी आवश्यक रहेको बताए। कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले पोखरालाई खेल पर्यटनको गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। स्थानीयवासीहरूले लेखनाथ रंगशालालाई पूर्वाधार सम्पन्न बनाउन पोखरा महानगरपालिकाले अगुवाइ गर्नुपर्ने माग गरेका छन्।