
पूर्णपुष्टि, असार २६ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई तेह्रथुममा पहिचान पक्षधरले कालो झण्डा देखाएका छन्। बुधबार बिहान बसन्तपुरबाट म्यालुङतर्फ जाँदै गर्दा जिरिखिम्तीमा यो घटना भएको हो।
प्रदेशको नाम पहिचानको आधारमा राख्न माग गर्दै आन्दोलनरत समूहले यसअघि सरकारसँग सहमति गरी आन्दोलनको स्वरूप परिवर्तन गरेको थियो। तर आज फेरि मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय तेह्रथुमका प्रमुख डीएसपी रञ्जनकुमार दाहालका अनुसार करिब १० देखि १२ जनाको समूहले कालो झण्डा देखाउन खोजेको थियो। प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारी र प्रहरीबीच सामान्य धकेलाधकेल भएको थियो।
गत वर्ष फागुन १७ मा कोशी प्रदेशको नामाकरण गरिएको थियो। तर पहिचान पक्षधर यस निर्णयप्रति असन्तुष्ट रहेको र पहिचानमा आधारित नामको माग गरिरहेका छन् ।
