
पूर्णपुष्टि, असार २६ । साविक विजेता अर्जेन्टिना कोपा अमेरिका २०२४ को फाईनलमा प्रवेश गरेको छ । मेटलाइफ स्टेडियममा बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले क्यानडालाई २–० गोलले हराउँदै फाईनलमा स्थान बनाएको हो ।
अर्जेन्टिनाका लागी अल्भारेजले २१औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि मेसीले ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा यस संस्करणको आफ्नो पहिलो गोल गरे। अर्जेन्टिना लगातार तेस्रो ठूलो प्रतियोगिता जित्ने लक्ष्यमा छ।
२०२१ मा कोपा र २०२२ मा विश्वकप जितेको अर्जेन्टिनाले अब फाइनलमा कोलम्बिया र उरुग्वेबीचको खेलको विजेतासँग उपाधिका लागि खेल्नेछ। आफ्नो सातौं कोपा खेलिरहेका मेसीले यस प्रतियोगितामा अहिलेसम्म १३ गोल गरिसकेका छन्। उनी कोपा अमेरिकाको इतिहासमा सर्वाधिक गोलकर्ताको सूचीमा संयुक्त सातौं स्थानमा रहेका छन्।
