
पूर्णपुष्टि, पुष १२ । त्रियुगा नगरपालिका वडा नं. १० बोक्सेको आयोजना र वडा युवा समूहको सहयोगमा शुक्रबार एक वृहत सरसफाई अभियान सम्पन्न भएको छ ।
त्रियुगा नगरपालिकाको प्याराग्लाइडिङ स्थल रातेमाटे डाँडादेखि सेल्फी डाँडा, गणेश मन्दिर हुँदै वरुवाखोलासम्मको क्षेत्रमा सरसफाई गरिएको हो । वडा अध्यक्ष किरण पाण्डेका अनुसार सार्वजनिक वन जंगलमा फालिएको विभिन्न किसिमका फोहोरहरू सफा गर्दै अबको आउने दिनमा प्रत्येक गाउँ, टोल, बस्ती र व्यक्ति–व्यक्तिमा सरसफाई अभियान लैजाने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको हो ।
उनले यस सरसफाई अभियानले स्थानीय पर्यटकीय क्षेत्रको सौन्दर्यकरण बढ्नुका साथै वातावरण संरक्षणप्रति स्थानीय जनताको चेतना अभिवृद्धि हुने बताए । साथै यस्ता सामूहिक प्रयासले समुदायमा सरसफाईप्रति जागरूकता बढाउन मद्दत पुग्ने उनले बताए । सरसफाईको क्रममा संकलन गरिएका विभिन्न किसिमका फोहोरहरु जलाएर नष्ट गरिएको थियो । सरसफाई अभियानमा कोशी प्रदेशकी उप–सभामुख सिर्जना दनुवार, प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, जिल्ला प्रहरी कार्यालयका (एसपी) हरिहरनाथ योगी, नगर प्रमुख बसन्त कुमार बस्नेत, उप–प्रमुख महेश्वरी राई लगायत स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
