
पूर्णपुष्टि, चैत २७ गते ।
उदयपुरको त्रियुगा नगरपालिकामा करिब ११ हजारले लालपुर्जा पाउने भएको छ । लामो समयदेखि समस्या रहेका भूमिहिन दलिद, सुकुम्बासी र अव्यवस्थित बसोबास भएका करिब ११ हजार परिवारलाई लालपुर्जा वितरण गर्न लागिएको हो ।
त्रियुगा नगरपालिकामा परेको निवेदनको आधारमा उनीहरुको नापी गरिएको थियो । निवेदनको ६० प्रतिशत बढीको जग्गा नाप जाँच भईसकेको छ भने बाँकी वडाहरुमा काम धमाधम भइरहेको छ ।
त्रियुगा नगरपालिकामा दलित भूमिहिन २ हजार ४१ परिवार, भूमिहिन सुकुम्बासी ३ हजार ३ सय ३१ परिवार र अन्य अव्यवस्थित १४ हजार ३ सय ८० गरी १९ हजार ७ सय ५२ परिवारले लालपुर्जाको लागि निवेदन दिएको हो ।
त्रियुगा नगरपालिका–१ मा एक हजार ९ सय ८२ परिवार, त्रियुगा नगरपालिका–२ मा १ हजार ४ सय ७१ परिवार, त्रियुगा नगरपालिका ३ मा २ हजार ९ सय २८ परिवार, त्रियुगा नगरपालिका ६ मा २ हजार १ सय ४३ परिवार, त्रियुगा नगरपालिका १२ मा १ हजार २२ परिवार र त्रियुगा नगरपालिका १३ मा १ हजार ३ सय २५ परिवारको जग्गाको लगत संकलन भएर लालपुर्जा बन्ने क्रममा रहेको मेयर चौधरीले बताए ।
केहि समय रोकिएको जग्गा नाप जाँचको काम पुनः एक हप्ता अगाडीबाट शुरु गरिएको छ । यस पटक एकै पटक वडा नं. १०, ११ र १६ बाट शुरु गरिएको हो । निवेदनको आधारमा हेर्ने हो भने अहिलेसम्म करिब ६० प्रतिशतको जग्गा नाप जाँच भई सकेकोले उनीहरुको लागि राष्ट्रिय भूमि आयोगमा लाल पुर्जा वितरणको लागि सिफारिस गरिएको मेयर चौधरीले बताए ।
मेयर चौधरीका अनुसार नगरपालिकाले ३ वर्षअघि नै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने नगरबासीको दीर्घकालीन समाधान गर्ने उदेश्यले काम गर्दै आएकोले पनि सरकारमा आएको उतार चढावले अलि ढिलो हुन गएको बताए ।
नगरपालिकाका हरेक वडामा अहिले ऐलानी र अव्यवस्थित जमिनको नापजाँच र विवरण संकलन कार्य भईरहेको भन्दै मेयर चौधरीले अब छिट्टै पुर्जा बितरणको कामतर्फ लाग्ने बताए । त्रियुगा नगरले अव्यवस्थित जमिनको छिट्टै समाधान गर्ने आश्वासन दिदैँ उनले वर्षौँदेखि भोगचल गर्दै आएको जमिनको स्वामित्व नगरबासीलाई दिलाउने बताए ।
