
पूर्णपुष्टि, १४ मंसिर ।
नेपाल बिद्युत प्राधिकरण उदयपुर बितरण केन्द्र गाईघाटले सडक बत्तिको लाईन काट्न सुरु गरेको छ । त्रियुगा नगरपालिकाले बुझाउनु पर्ने बिद्युत महसुलको बक्यौता नतिरेपछि प्राधिकरणले लाईन काट्न सुरु गरेको हो । प्राधिकरणका सहायक प्रशासकीय अधिकृत पुष्पक पौडेलले झण्डै डेढ बर्षको महसुल नगरपालिकाले नबुझाएको बताए । गत बर्षदेखी यो बर्षको भाद्र महिना सम्म सडक बत्तिको पैसा २ करोड, ५७ लाख ५६ हजार ५२४ रुपयाँ उठेको पौडेलले जनाए ।

त्रियुगा नगरपालिकाको १६ ओटै वडाहरुमा सडक बत्ति जडान गरिएको छ । जसमा १३९ ओटा सडक बत्तिको मिटर बक्स राखिएको प्राधिकरणको भनाई छ । नगरपालिकालाई सचेत गराउँदै शुक्रबार देखी प्राधिकरणले प्रारम्भीक लाईन काट्न सुरु गरेको हो । बक्यौता नतिरे सम्म यो अभियान जारी राख्ने प्राधिकरणको भनाई छ । नगरपालिकाले बत्तिको पैसा स्वरुप स्थानीयहरु सँग भने पैसा असुलि रहेको छ । नगरपालिकाले नगरवासीहरु सँग २०८०/०४/०१ देखी २०८०/०८/१५ गते सम्म मात्रै २ लाख ३७ हजार ७ सय रुपयाँ बिद्युत बापतको शुल्क लिएको छ भने २०७९/०४/०१ देखी २०८०/०३/३१ सम्म २६ हजार ६ सय रुपयाँ शुल्क लिएको छ । तर यता नगरपालिकाले भने सो रकम प्राधिकरणलाई बुझाएको छैन् । सडक बत्ति बापतको पैसा चै लिरहेको तर बत्ति काँटिने अवस्था आएको भन्दै महसुल बुझाउने सेवाग्राही भने आक्रोसित बनेको छ । पहिलो दिन प्राधिकरणले बजार एरियाको सडक बत्तिको लाईन काटेको हो । गाईघाट बजारको मुख्य सडकहरु बिपि चोक, पिजि चोक, बैँक लाईन्, बिद्युत लाईन, पेट्रोल पम्प र पुरानो बसपार्क लाईनको सडक बत्ति आजबाट नबल्ने जनाईएको छ ।

