Wednesday, October 7News That Matters

त्रियुगा नगरलाई बालमैत्री नगर घोषणा गर्ने तयारी, दुईदिने कार्यशाला सम्पन्न

  • बिरशबाबु शाही /पूर्णपुष्टि

२१ असोज, २०८३ । उदयपुर
गाईघाट । त्रियुगा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्ने तयारीस्वरूप सञ्चालन गरिएको दुईदिने क्षमता विकास तथा कार्यशाला गोष्ठी बुधबार सम्पन्न भएको छ ।
त्रियुगा नगरपालिकाको सभा हलमा आयोजित कार्यशालामा नगरपालिकाका १६ वटै वडाका वडा सचिव, बालमैत्री फोकल पर्सन तथा बालमैत्री अभियानकर्ताहरूको सहभागिता रहेको थियो ।
कार्यशालाको सहजीकरण सामाजिक विकास शाखा प्रमुख राजकुमार खड्काले गरेका थिए भने राम बस्नेतले प्रशिक्षण दिएका थिए । कार्यशालामा बालमैत्री स्थानीय शासनका न्यूनतम सेवा प्रवाह तथा संस्थागत सूचक पूरा गर्न आवश्यक प्रक्रिया, जिम्मेवारी र कार्ययोजनाबारे छलफल गरिएको बालमैत्री फोकल पर्सन भीमा राईले बताइन् ।
प्रशिक्षक बस्नेतका अनुसार त्रियुगा नगरपालिकालाई बालमैत्री नगर घोषणा गर्न न्यूनतम सेवा प्रवाहतर्फ ३६ र संस्थागततर्फ १५ गरी कुल ५१ वटा सूचक पूरा गर्नुपर्ने व्यवस्था छ । सोही सूचक पूरा गर्ने उद्देश्यले सम्बन्धित सरोकारवालाहरूको सहभागितामा कार्यशाला आयोजना गरिएको उनले बताए ।
कार्यशालामा सहजीकरण गर्दै सामाजिक विकास शाखा प्रमुख खड्काले नगरभित्रका विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउनुपर्नेमा जोड दिए । उनले बाल क्लब, बाल सञ्जाल तथा बाल भेलामार्फत स्थानीय योजना तर्जुमामा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने बताए ।
त्यसैगरी बालबालिकालाई विभेद, हिंसा, दुव्र्यवहार तथा शोषणबाट सुरक्षित राख्नुपर्ने र नगरपालिकाले निर्माण गर्ने सार्वजनिक भवन, खेलमैदानलगायतका भौतिक संरचना बालमैत्री तथा अपाङ्गमैत्री हुनुपर्नेमा उनले जोड दिए ।
कार्यशालाको उद्घाटन नगरपालिकाकी उपप्रमुख महेश्वरी राईले गरेकी थिइन् भने समापन नगर प्रमुख बसन्त कुमार बस्नेतले गरेका थिए । समापन कार्यक्रममा नगर प्रमुख बस्नेतले बालमैत्री आचारसंहिताको प्रभावकारी कार्यान्वयनसँगै नगरपालिकाका सबै संरचना र सेवाप्रवाहलाई बालमैत्री बनाउनुपर्ने बताए ।
त्रियुगा नगरपालिकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४, बालबालिका सम्बन्धी ऐन, २०७५, बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८, बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि, २०७९ तथा नगरपालिकाबाट पारित बाल अधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधिअनुसार आवश्यक सूचक पूरा गरी बालमैत्री नगर घोषणा गर्ने लक्ष्य लिएको जनाएको छ ।