
- पूर्णपुष्टि सम्वाददाता
- २५ असोज, मोरङ
मोरङको केराबारी गाउँपालिका–५, सतिसालेस्थित सावित्री माध्यमिक विद्यालयमा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ मा नवप्रवेशी छात्रछात्रालाई स्वागत गरेका छन्। विद्यालयमा विद्यार्थीहरूबीच आपसी आत्मीयता, सामीप्यता र सद्भाव अभिवृद्धि गर्ने उद्देश्यले स्वागत कार्यक्रम आयोजना गरिएको हो।
कक्षा १२ का विद्यार्थी सुजन नेपालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका निमित्त प्रधानाध्यापक वमवहादुर वस्नेत प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा मौसम कटवालले स्वागत मन्तव्य व्यक्त गरेका थिए । शुभकामना मन्तव्य कक्षा ११ की छात्रा सविता मगरले व्याक्त गरेकी थिइन भने आकृति तामाङले कार्यक्रम सञ्चालन गरेकी थिइन्। कार्यक्रममा नृत्य, गायन तथा विविन्न सांस्कतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरू भएका थिए । शिक्षिका समीक्षा छिलिङ राईको साहित्यिक प्रस्तुति विशेष रह्यो ।
शिक्षक नुनीराम राईले स्वागत कार्यक्रमले विद्यार्थीहरूबीच आपसी चिनजान, आत्मीयता र सहकार्यको भावना विकास गर्न सहयोग पुर्याउने बताए। साथै, नयाँ विद्यार्थीहरूलाई विद्यालयको शैक्षिक वातावरण, अनुशासन, संस्कार तथा गतिविधिबारे जानकारी गराउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
राईका अनुसार नवप्रवेशी विद्यार्थीहरूलाई आत्मीय वातावरणमा रम्न, विद्यालयप्रति अपनत्व बढाउन, आपसी सद्भाव बढाउन, शैक्षिक जीवनप्रति सकारात्मक सोचको विकास गर्ने उद्देश्यले कार्यक्रम गर्ने गरिएको छ। साथै आपसी सम्मान, विकृति नैतिक मूल्य मान्यताको भावनामा वृद्धि तथा विद्यालयको वातावरणसँग नयाँ विद्यार्थीहरूलाई परिचित गराउने उद्देश्यले विद्यालयमा विगतदेखि नै नियमित रूपमा स्वागत कार्यक्रम आयोजना हुँदै आएको छ ।
कार्यक्रमले कक्षा ११ र १२ का विद्यार्थीहरूबीच आपसी सद्भाव, एकता र सहकार्यको भावना थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
