
पूर्णपुष्टि, साउन १ । चितवनको सिमलतालमा शुक्रबार भएको बस दुर्घटनामा बेपत्ता भएका यात्रु र बसको खोजीका लागि उच्च प्रविधिको ‘सोनार क्यामरा’ प्रयोग गरिएको छ। सशस्त्र प्रहरी बलको विशेष टोलीले सोमबारदेखि यो प्रविधि प्रयोग गरेर खोजी कार्य तीव्र पारेको छ।
सशस्त्र प्रहरीका एसपी जनक पुरीका अनुसार यो नयाँ सोनार क्यामराले तीन सय मिटर गहिराइसम्मको वस्तुको आकार र आकृतिको सूचना दिन सक्छ। यसले पानीमुनि रहेका वस्तुहरूको स्पष्ट संकेत दिने भएकोले खोजी कार्यमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ।
उद्धार टोलीले मोटरबोटमा रहेर घटनास्थलदेखि तलतिर खोजी गरिरहेको छ। पानीको बहाव उच्च र धमिलो भए पनि सोनार क्यामराको कार्यक्षमतामा असर नपर्ने बताइएको छ। टोलीले घटनास्थलबाट ५० किलोमिटर तलसम्म खोजी गर्ने योजना बनाएको छ।
दुर्घटनामा दुई वटा बस र ६५ जना यात्रु बेपत्ता भएका थिए। हाल सम्म १५ जनाको शव फेला परिसकेको छ भने अन्य ५० यात्रुको अवस्था अझै अज्ञात रहेको छ। गोताखोरहरूले पानीको उच्च बहाव र कम दृश्यताका बावजुद निरन्तर खोजी जारी राखेका छन्। सशस्त्र प्रहरी र नेपाली सेनाका गरी १७ जना गोताखोर यस कार्यमा संलग्न छन्। उच्च प्रविधिको प्रयोगले खोजी कार्य अझ प्रभावकारी हुने र बेपत्ता व्यक्तिहरूको खोजीमा सहयोग पुग्ने आशा गरिएको छ।
