
पूर्णपुष्टि, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकारले सबै क्षेत्रमा सकारात्मक परिणाम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्। मंगलबार बालुवाटारस्थित सरकारी निवासमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण, विकास निर्माण, र जनतालाई राहत दिने विषयमा सरकारले ठोस काम गर्ने बताए।
“नेपाली जनतामा जुन विश्वास जागेको छ, आशा र भरोसा जागेको छ, त्यसमा मेरो ध्यान गएको छ,” प्रधानमन्त्री ओलीले भने। उनले कठिनाइमा परेका जनताको हित, सुशासन र विकासका लागि सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै सबैलाई आश्वस्त हुन आग्रह गरे।
प्राकृतिक विपत्तिबाट भएको क्षतिलाई सरकारले गम्भीरतापूर्वक लिएको र आवश्यक राहत व्यवस्था मिलाउने काम अघि बढाइएको जानकारी दिँदै प्रधानमन्त्रीले नयाँ सरकार गठन भएपछि देशभर आशा र भरोसाको वातावरण सिर्जना भएको दाबी गरे।
प्रधानमन्त्री ओलीले आफ्नो सम्बोधनमा समाजका विभिन्न वर्ग र क्षेत्रका आवश्यकतालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे। “बालबालिका, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, व्यवसायी, किसान, पर्यटन क्षेत्र, सामाजिक सेवा क्षेत्र, सुरक्षाकर्मी र कर्मचारीहरूको हित संरक्षण र विकासका लागि सरकार प्रतिबद्ध छ,” उनले भने। अन्त्यमा, प्रधानमन्त्री ओलीले आफूले विगतमा पनि सरकारको नेतृत्व गर्दा देश र जनताको पक्षमा काम गरेको स्मरण गराउँदै, अहिले पनि जनहितका लागि तीव्र गतिमा काम गर्ने प्रतिज्ञा गरे। उनले भने, “प्रधानमन्त्रीको पद स्वीकार गर्नुको अर्थ यत्तिकै प्रधानमन्त्री हुनुका लागि होइन, बरु देश र जनताको हित गर्नु हो।”
