Wednesday, April 22News That Matters

त्रिशुली बस दुर्घटना:भारतीय टोली आज फर्किँदै, बस र यात्रु अझै बेपत्ता

पूर्णपुष्टि, साउन १३ । चितवनको सिमलतालमा भएको बस दुर्घटनाको खोजी कार्यमा सहयोग गर्न आएको भारतीय प्राविधिक टोली आज स्वदेश फर्कने भएको छ। एक हप्ता लामो खोजी अभियानमा संलग्न भारतको राष्ट्रिय आपदा मोचन बल (एनडीआरएफ) का १२ सदस्यीय टोलीलाई आज बिदाइ गरिने चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए।

गत असार २८ गते सिमलतालमा लेदो पहिरोले बगाएर त्रिशूली नदीमा खसेका दुई बस र त्यसमा सवार ६५ यात्रुको खोजी कार्य अझै निष्कर्षमा पुग्न सकेको छैन। भारतीय टोलीले अत्याधुनिक सोनार उपकरण र गोताखोरहरू प्रयोग गरेर खोजी गरे पनि बस र बेपत्ता यात्रुहरूको पत्तो लाग्न सकेको छैन।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार नेपाली सुरक्षा निकायले दोस्रो चरणको खोजी कार्य जारी राख्नेछन्, तर यो पहिलेको जस्तो सघन नहुने बताए। उनले भने, ‘भारतीय र हाम्रो संयुक्त टोलीले हालसम्म गरेको कामको समीक्षा गरेर धन्यवाद ज्ञापनसहित भारतीय टोलीलाई फिर्ता पठाइने छ।’

दुर्घटनामा परेका ६५ यात्रुमध्ये तीन जनाले पौडेर ज्यान जोगाएका थिए। हालसम्म २५ शव फेला परेकोमा १९ जनाको मात्र सनाखत भएको छ। बाँकी ४३ यात्रुको अवस्था अझै अज्ञात छ। खोजी कार्यमा त्रिशूली नदीको उर्लंदो भेल र उच्च बहावले ठूलो बाधा पुर्‍याएको छ। शनिबार प्रयोग गरिएको १९ किलोको शक्तिशाली चुम्बक समेत नदीमा बगेर हराएको छ। सरकारले अब बेपत्ता यात्रुहरूलाई मृतक मानेर राहत प्रक्रिया सुरु गर्ने तयारी गरेको छ। यद्यपि, नेपाली सुरक्षा निकायहरूले खोजी कार्यलाई निरन्तरता दिने बताएका छन्।