
पूर्णपुष्टि, साउन १४ । थापाथलीको पुलमुनि १७ असारमा मृत फेला परेका कञ्चनपुरका गोविन्द बोहराको हत्या भएको खुलेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीका अनुसार यस घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेहरूमा दार्चुलाका जगदिश बोहरा र सुरजकुमार विष्ट, कञ्चनपुरका नरेश सिंह महरा र मोतीलाल बोहरा रहेका छन्। उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतमा ज्यानसम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। प्रहरी अनुसन्धानका अनुसार १५ असारको दिन आरोपीहरू र मृतक गोविन्द सँगै पशुपतिनाथ मन्दिर क्षेत्रमा गएका थिए, जहाँ उनीहरूले गाँजा सेवन गरेको पाइएको छ।
त्यसपछि गोविन्द बेपत्ता भएका थिए र दुई दिनपछि उनको शव थापाथली पुलमुनि फेला परेको थियो। आरोपीहरूले हत्याको आरोप अस्वीकार गरेका छन् र गोविन्द गाँजा सेवनपछि एक जनाको मोबाइल लिएर निस्केको बताएका छन्। तर, प्रहरीले पशुपति नजिकको सीसीटीभी फुटेजमा उनीहरूको शंकास्पद हाउभाउ देखिएको दाबी गरेको छ।
