
पूर्णपुष्टि, भदौ २ । दक्षिण कोरियामा कार्यरत उदयपुरका एक युवाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका–५ बेल्हाका ३२ वर्षीय कमल चौधरीको आज कोरियामा निधन भएको परिवारजनले जानकारी दिएका छन् ।
एक वर्षअघि इपिएस परीक्षा उत्तीर्ण गरेर रोजगारीका लागि दक्षिण कोरिया गएका चौधरी विगत डेढ महिनादेखि कोरियाको बुसानस्थित अस्पतालमा कोमा अवस्थामा उपचाररत थिए । कोरियामा रहेका उनका सालो पुरुषोत्तम चौधरीका अनुसार उपचारका क्रममा उनको मृत्यु भएको हो ।
कमल चौधरी कसरी र किन अचेत भए भन्नेबारे उनका परिवारजनलाई स्पष्ट जानकारी छैन । तर, बेहोस हुनुभन्दा एक महिनाअघि नै उनले काम गर्दै आएको कम्पनी छाडेका थिए । त्यसपछि नयाँ कामको खोजीमा कुनै शेल्टरमा बसिरहेको बेला यो दुर्घटना भएको बुझिएको छ ।
अचेत अवस्थामा फेला परेका उनलाई प्रहरीले एम्बुलेन्सबाट अस्पताल पुर्याएको थियो । उपचारको क्रममा उनको टाउकोमा रगत जमेको देखिएको थियो । कोमा अवस्थामा रहेका बेला उनले हात-खुट्टा अलिकति चलाउने र आँखा झिमझिम गर्ने गरेको बताइएको छ ।
चौधरीको उपचारको क्रममा १६ लाख रुपैयाँभन्दा बढी खर्च भएको रकम परिवारले तिर्नुपर्ने भएको छ । त्यो रकम तिर्न सक्ने आर्थिक अवस्था उनको परिवारसँग छैन । बुबा बालक चौधरी र आमा भुथरीदेवी चौधरीका दुई छोराहरूमध्ये कमल जेठो छोरा थिए । उनकी श्रीमती पनि छिन् ।
दक्षिण कोरियास्थित नेपाली राजदूतावासले यो घटनाको जानकारी पाउनासाथ कमलको परिवारसँग सम्पर्क गरेको थियो । अस्पतालमा निको हुने आशामा रहेको घर-परिवार अचानक आएको यो दु:खद खबरले स्तब्ध बनेको छ ।
