
पूर्णपुष्टि, कार्तिक ८ । उदयपुरको त्रियुगा नगरपालिका वडा नं. ४ बगाहामा जारी दोस्रो स्व. युवराज (कौलाश) राई फुटबल प्रतियोगिताको फाईनलमा दमौटी फुटबल क्लब पुगेको छ । बिहिबार बगाहाको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा फ्युजनलाई ० गोलको बिरुद्ध २ गोल गर्दै दमौटी फुटबल क्लब फाईनलमा प्रवेश गरेको हो ।
दोस्रो हाफको १४ औं मिनेटमा जर्सि नं. ११ का कप्तान पविन राईले गोल गर्दै दमौटीलाई आग्रता दिलाएका थिए भने खेलको २९ औँ मिनेटमा जर्सि नं. २७ का पुष्पराज चौधरीले दमौटीका लागी दोस्रो गोल गरे । यस खेलको म्यान अफ द म्याच दमौटीका जर्सि नं. ११ का पविन राई बने । उनले नगद रु. १ हजार सहित फ्लेक्स र मेडल प्राप्त गरे ।
यस प्रतियोगिताको फाईनल खेल शनिबार दिउँसो ३ बजे दमौटी फुटबल क्लब विरुद्ध सगरमाथा फुटबल क्लब राजावास बिच हुनेछ । यस अघिको पहिलो सेमिफाईनल खेलमा बेल्टार एकता युवा क्लबलाई पेनाल्टी सुटआउटमा २ गोलको विरुद्ध ४ गोल गर्दै सगरमाथा फुटबल क्लब राजावासले फाईनलमा स्थान बनाईसकेको छ ।
यस प्रतियोगिताको विजेताले नगद रु. ५१ हजार र उपविजेताले ३१ हजार सहित ट्रफी र मेडल प्राप्त गर्नेछ । स्व. कैलाश राई युवा फुटबल खेलाडीहरुमाझ लोकप्रिय थिए । फुटवलमा रुची राख्ने राईको कामको शिलशिलामा करेन्ट लागी मृत्यु भएको थियो । कार्यक्षेत्रमा करेन्ट लागेर मृत्यु भएपछि उनको सम्झनामा गत वर्षदेखि यो प्रतियोगिता आयोजना गरिँदै आएको छ ।




