
पूर्णपुष्टि,चैत्र १५ । नेपाली चलचित्र क्षेत्रका लोकप्रीय अभिनेता दयाहाङ राई र मिरुना मगरको फिल्म ‘जारी’ अन्तराष्ट्रिय जगतमा प्रदर्शन हुने भएको छ । नेपाली फिल्मको स्वदेश प्रदर्शनअघि नै विदेशबाट उच्च माग हुनु अन्तर्राष्ट्रिय करणका लागि महत्वपूर्ण उपलब्धि हो ।
उक्त फिल्म अमेरिका, अष्ट्रेलिया, युरोप, मध्यपूर्व र पूर्वी एसियाली मुलुकमा फिल्म प्रदर्शन हुने तय निर्माता रामबाबु गुरुङले बताए । उनका अनुसार अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान र युरोपका सबै मुलुकमा अप्रिल पहिलो सातामा फिल्म रिलिज हुनेछ। क्यानडामा अप्रिल दोस्रो साता, मध्यपूर्व र हङकङमा अप्रिल तेस्रो साता रिलिज हुनेछ ।
निर्देशक उपेन्द्र सुब्बासहित कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर अप्रिल २२ मा लण्डनमा हुने प्रिमियरमा सहभागी हुँदैछन् ।
अन्तर्राष्ट्रिय अधिकार बिक्रीबापत फिल्मले डेढ करोडभन्दा बढी नेट कलेक्सन गरेको निर्माता गुरुङले जानकारी दिए । ‘जारी’ प्रदर्शनअगावै निर्मातालाई नाफामा लैजाने फिल्म बनेको छ । पूर्वी नेपालमा बसोबास गर्ने लिम्बू समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथावस्तुमा फिल्ममा समेटिएको छ ।
फिल्ममा दयाहाङ र मिरुनासँगै विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङलगायत कलाकारको अभिनय छ ।
