
पूर्णपुष्टि, १ साउन ।
दर्शक कुट्ने भलिवल खेलाडी धनबहादुर भट्टलाई भलिबल संघले कार्वाही गरेको छ । नेपाली सेनामा कार्यरत भट्ट आठ वर्षयता राष्ट्रिय टिमका ओपन स्पाइकर समेत हुन् । राष्ट्रिय टिमका सम्भावित कप्तानका रूपमा हेरिएका खेलाडीले दर्शकलाई प्यारापिटमै उक्लिएर मुक्का हानेको भिडियो सामाजिक सन्जालमा आएको छ, खेलवृत्तमै बहसको विषय बनेको छ । कभर्डहलमा गत सोमबार गण्डकीविरुद्ध ३–० को जित हात पारेको थियो । त्यसको तेस्रो सेटमा आर्मी २३–२४ को स्थितिमा चेकआउट हुँदा आर्मीलाई अंक दिएको भन्दै गण्डकीका खेलाडीहरू अम्पायरसँग गुनासो गर्न पुगेका थिए ।
दर्शकले पनि आर्मीविरुद्ध आक्रोश पोख्न थाले । आर्मी टिम भएको कोर्टतिर पानीको बोतल हाने । आर्मीका खेलाडीहरू भीआईपी प्यारापिट नजिकै रहेका गण्डकीका समर्थकतिर खनिए । औंला तेर्स्याउँदै गालीगलौज गर्दै झम्टिन थाले । धनबहादुरले बार नाघ्दै प्यारापिटको माथिल्लो क्षेत्रमा पुगेर दर्शकलाई मुक्का हानेर ढालिदिए ।
सेनाका खेलाडीको मुक्का खाएका रामजीप्रसाद डीसी भलिबलका ठूला प्रतियोगिताका नियमित दर्शक हुन् । ‘म आर्मीको फ्यान हुँ, त्यो दिन भने गण्डकी मन परेको थियो,’ माडी गाउँपालिका–४, रोल्पाका ३३ वर्षीय रामजीले भने, ‘मैले गाली गरेको छैन, बोतल हानेको छैन । त्यत्तिकै आएर मुक्का हानिहाल्नुभयो । खै किन मलाई कुटे थाहा भएन । सेतो हाफपाइन्ट, नीलो क्याप लगाएका आर्मीका मान्छेले मेरो फोटो खिच्दै जाने बेला तलाईं पख् भन्दै धम्क्याए । त्यसपछि सुरक्षाका लागि म प्रहरी कार्यालयमा निवेदन दिन गएँ । संघले खेलाएको खेल हो, उसैले कारबाही गर्छ भन्दै प्रहरीले निवेदन लिन मानेन । संघले निवेदन दियो भनेमात्रै प्रहरीले हेर्ने भन्यो । अनि मैले संघमा निवेदन दिएँ ।’
उक्त घटनालाई लिएर गण्डकीले पनि संघमा निवेदन दियो । त्यसपछि संघले महासचिव रोशन श्रेष्ठको संयोजकत्वमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्यद्वय अञ्जु श्रेष्ठ र जुनु पुन रहेको पाँच सदस्यीय छानबिन समिति गठन गर्यो । समितिले घटनासँग सम्बन्धित व्यक्तिहरूसँग बयान लिइरह्यो, प्रतियोगिता चलिरह्यो । धनबहादुरसहित आर्मीका खेलाडीहरू खेलिरहे । पहिला आर्मीलाई समर्थन गरिरहेका दर्शक पनि आर्मीको विरोधी बने । ‘दर्शक कुट्ने टिम बाईबाई’ को नारा नै लगाए । आर्मीको प्रदर्शन पनि खस्कियो । डिफेन्डिङ च्याम्पियनका रूपमा प्रतियोगितामा खेलेको आर्मी तेस्रो स्थानमा खुम्चियो । समितिको प्रतिवेदनलाई सदर गर्दै संघको कार्यसम्पादन समितिले घटनाको ६ दिनपछि दोषीलाई कारबाही गर्ने निर्णय गर्यो, जुन प्रतियोगिता सम्पन्न भएपछि सुनाइयो ।
दर्शक कुट्ने खेलाडीलाई कारबाही गर्न किन ढिलाइ रु ‘दर्शक भनेको भगवान् हो, अपमान भयो । गण्डकी र कुटाइ खाने दर्शकले निवेदन दिए । कारबाही गर्नैपर्यो,’ संघका महासचिव श्रेष्ठले आइतबार भने ‘भलिबलमा फुटबलमा जस्तो रेड कार्ड दिएर तुरुन्तै निकाल्ने भन्ने हुँदैन ।’ संघले कारबाही गर्न ढिलाइ गर्दा अराजक खेलाडीको आर्मी टिमले निरन्तर खेल्ने अवसर पायो । यसमा संघले आर्मीलाई जोगाउन खोजेको आरोप पनि लाग्यो । हरिश चन्दको कमान्ड र नरेन्द्र गिरीको व्यवस्थापनमा रहेको आर्मीलाई कडा कारबाही नगरी सचेत मात्रै गराउने संघको निर्णयले पनि आशंका थपेको छ ।
श्रेष्ठका अनुसार धनबहादुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा खेल्न नपाउने गरी ६ महिना निलम्बन गरिएको छ । २०७२ सालयता राष्ट्रिय टिममा निरन्तर रहेका उनले अब १९ औं एसियाली खेलकुद गुमाउनेछन् । ‘धनबहादुर एकदमै अनुशासित खेलाडी हुन् । तर, नराम्रो घटना घटेको हो । म अचम्ममा परेको छु,’ राष्ट्रिय टिमका प्रशिक्षक जगदीश भट्टले भने, ‘खेलाडीलाई कारबाही गर्दा दुःख त लाग्छ तर सबक सिकाउनैपर्ने हुन्छ, कारबाही गर्नैपर्ने हुन्छ । एसियन गेम्सका लागि चार–पाँच जना खेलाडी वैकल्पिकमा छन्, त्यसबाट एक जनालाई उनको स्थानमा छनोट गर्नेछौं ।’
संघले उक्त घटनामा नेतृत्व गर्ने क्षमता नभएको भन्दै आर्मीका खेलाडी हरिहजुर थापालाई राष्ट्रिय टिमको कप्तानबाट बर्खास्त गर्ने निर्णय गरेको छ । उनले गत वर्ष भएको सेन्ट्रल एसियन च्याम्पियनसिपदेखि नेपाली टिमको नेतृत्व गर्दै आएका थिए । कप्तानबाट बर्खास्त उनी एसियाली खेलकुदको तयारीमा रहेको राष्ट्रिय टिममा यथावत् हुनेछन् । आर्मीका खेलाडीहरू राजेन्द्र विष्ट र धनपति कुँवरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा तीन महिना निलम्बन गरिएको छ । दुर्गाबहादुर खड्का र हरिबहादुर अधिकारीलाई चेतावनी दिइएको छ । अम्पायरद्वय चित्रजंग गुरुङ र अनिल रानालाई आगामी एक प्रतियोगिता खेलाउन नपाउने गरी निलम्बन गरिएको छ ।
‘मान्छेबाट गल्ती हुन्छ, सार्वजनिक रूपमा माफी मागेको भए माफी दिन तयार थिएँ । तर, यो खालको व्यवहार नदोहोरियोस् भनेर संघले कारबाही गरेकामा सन्तुष्ट छु,’ बसुन्धरामा व्यवसाय गरिरहेका डीसीले भने, ‘छानबिन समितिलाई बयान दिन जाँदा कभर्डहल छिरेको थिएँ । त्यसपछि गइनँ, घरमै लाइभ स्ट्रिमिङ हेरें । अब गइँदैन होला । किनभने भीडभाड ठाउँमा दर्शकले हुटिङ गरिहाल्छ । फेरि त्यस्तो नदोहोरिएला भन्न सकिन्न । मान्छेबाट त्रुटि हुन्छ । अब खेलाडी अनुशासनमा बस्छन् होला र त्यस्तो नहोला भन्ने लागेको छ ।’
