
पूर्णपुष्टि, साउन १ । लुम्बिनी प्रदेशका पूर्व भूमिव्यवस्था तथा सहकारी मन्त्री विजयबहादुर यादव बैंकिङ कसुरमा पक्राउ परेका छन् । नेकपा एमालेका नेता यादवलाई बाँके प्रहरीले पक्राउ गरेर बुटवल ल्याउँदै गरेको रुपन्देही प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनिमाथि रकम नभएको खाताको १२ लाख २८ हजार रुपैँयाको चेक काटेर दिएको आरोप छ । यादवले गत माघ १० मा रुपन्देहीको सियारी गाउँपालिका–१ का उमाशंकर यादवलाई बैंक अफ काठमाडौंको उक्त चेक दिएका थिए । सो चेक भजाउन जाँदा खातामा रकम नभएको पाईएपछि यादवविरुद्ध बैंकिङ कसुर मुद्धा परेको थियो ।
जसपाबाट २०७४ सालमा बाँकेको क्षेत्र नम्बर २ (१) बाट प्रदेशसभा निर्वाचनमा निर्वाचित भएका यादव पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएर भूमि व्यवस्था तथा सहकारीमन्त्री बनेका थिए । पार्टीको निर्देशनविपरीत सरकारमा सहभागी भएका यादवलाई जसपाले कारर्बाही गरेको थियो । त्यसपछि गत निर्वाचनमा एमाले प्रवेश गरेर प्रदेशसभा निर्वाचनमा उठेका यादव पराजित भएका थिए ।
