
पूर्णपुष्टि, साउन १ । कुवेत र जोर्डन जान लागेका १५६ जना श्रमिकलाई विना कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अध्यागमनले फर्काएको भन्दै वैदेशिक रोजगार विभागले असन्तुष्टि जनाएको छ ।
बैदेशिक रोजगार विभागले आईतबार निकालेको प्रेस विज्ञप्तीमा श्रम स्वीकृती लिई कामको लागी जोर्डन र कुवेत जान लागेका श्रमिकहरुले पेश गरेको कागजात शंकास्पद भनी प्रस्थान अनुमती नदिएको सम्बन्धमा वैदेशिक रोजगार विभागको गम्भिर ध्यानाकार्षण भएको जनाएको छ ।
विभागका निर्देशक गुरुदत्त सुवेदीले जारी गरेको विज्ञप्तीमा विभागबाट एकै प्रकृतीका कागजातका आधारमा एउटै लटमा श्रम स्विकृती लिई प्रस्थानको लागी एयरपोर्ट पुगेका व्यक्तिहरु मध्ये कसैलाई प्रस्थानको लागी अनुमति दिएको र कसैलाई नदिएको तथ्य देखिएको भन्दै विना आधार श्रमिकलाई अध्यागमनले फिर्ता पठाउनु मानसिव रहेको बताईएको छ ।
संस्थागत श्रम स्विकृत लिई श्रमिकहरुलाई गलत स्थान वा गलत कागजातका आधारमा बैदेशिक रोजगार पठाएमा बैदेशिक रोजगार ऐन, २०६४ को दफा ४४, ४५, ४६, ४७ क्षतिपुर्ती जरिवाना तथा कैद सजाय समेत व्यवस्था रहेको हुँदा अध्यागमन कार्यालयबाट फिर्ता पठाउनु मानसिव नरहेको विज्ञप्तीमा उल्लेख छ । अध्यागमनले यसबारे छानबिन गर्न समिति गठन गरे पनि वैदेशिक रोजगार विभागले, गृह मन्त्रालय र श्रम मन्त्रालय अन्तर्गतको संयुक्त छानबिन समिति गठन गरी स्वतन्त्रतापूर्वक छानबिन गर्न अनुरोध समेत गरेको छ ।
