
पूर्णपुष्टि, साउन १ ।
उदयपुरकाे ताप्ली गाउँपालिका –४ स्थित आधारभुत विद्यालय थुम्की पिपलबजारका प्रधानाध्यापक एकराज पोखरेलले शैक्षिक सामग्रीमा भ्रष्टाचार गरेको आरोप लागेको छ । कम मूल्यका सामानलाई बढि बील देखाई उनले दुईलाख बढि भ्रष्टाचार गरेको आरोप छ ।
उनले विद्यालयका लागि खरिद गरिएका शैक्षिक सामग्री तथा फर्निचर लगायतमा भ्रष्टाचार गरेको अभिभावकहरुको आरोप छ । प्रअ पोखरेलले आफुखुसी गाउँपालिकाबाट विनियोजित पाँच लाख बजेटको सामान खरिद गरेका थिए । प्रअ पोखरेलका अनुसार दमक पुगेर सामान गरिद गरिएको थियो । उनले खरिद गरेका सामान कम मुल्यको भएपनि बील उच्च मूल्याको ल्याएको जनाइएको छ । अधिकांश सामानमा हिन्दी भाषा लेखिएका छन् । भारतका लागि बनाइएका सामान कम मुल्यमा खरिद गरि ल्याएको प्रष्ट छ । 
प्रअ पोखरेलले यस विषयलाई आफ्नाे कमजोरीको रुपमा स्विकारेका छन् । केही सामान फिर्ता गरेको र तिरिएको बढि पैसा फिर्ता गराउने काम भएको उनले बताए ।
वडाध्यक्ष उमेश मगरले प्रअबाट कमजोरी भएको बताए । त्यसबारेमा थप जानकारी लिने काम भइरहेको उनले बताए । स्थानीय युवराज राईले गाउँका सचेत युवा तथा अभिभावकहरुले यस बारेमा ब्यापक प्रश्न उठाएको बताए ।
गाउँका सचेत ब्यक्तिहरुले प्रश्न उठाएपछि यसको खोजिनिति भएको छ । अन्याथा जनताको पैसा गुपचुप भ्रष्टाचार हुने गरेकोछ । ताप्ली गाउँपालिकाकी शिक्षा अधिकृत सन्जुकुमारी दाहालका अनुसार सो विद्यालयलाई नमुना प्रारम्भिक बाल विकास कक्षा ब्यवस्थापनका लागि बजेट दिइएको हो । जसमा शैक्षिक सामग्री, खेलकुद सामग्री लगायत खरिदगरी ब्यवस्थापन गर्नुपर्ने थियाे । सामान खरिदमा भएको अनियमितताको बारेमा उजुरी नआएको तर अभिभावकहरुबाट प्रश्न उठेकाले छानविन हुने शिक्षा अधिकृत दाहालको भनाइ छ ।
