
पूर्णपुष्टि, असोज २२ । नेपालीहरुको ठूलो पर्व दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ । ७९ हजार ५४१ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले करिब ४ हजार दरबन्दी रिक्त छ । जसमध्ये देशभर दशैं सुरक्षाका लागि भनेर ६० हजार प्रहरी परिचालन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले बताए ।
अति आवश्यक काम बाहेकका प्रहरी कर्मचारीलाई यो पटक दशैंमा बिदा छाडिएको छैन । सकेसम्म सुरक्षित दशैं बनाउने योजना प्रहरी प्रधान कार्यालयको रहेको छ । बाढी पहिरोबाट क्षति भएका जिल्लाहरुमा कार्यरत प्रहरी कर्मचारीलाई राहत, पुनर्स्थापनालगायतको काम बाँकी नै रहेकाले अहिले अति आवश्यक बाहेकहरुलाई बिदा छाडिएको छैन ।
परिचालित ६० हजार प्रहरीमध्ये केही प्रहरी सादा पोशाकमा सूचना संकलनका रुपमा खटिएका छन् । उनीहरुले अपराध हुने वा हुनसक्ने स्थानहरुमा खटिएर सूचना संकलनको कामदेखि अपराध भइहालेमा अनुसन्धानको काममा समेत खटिने छन् ।
काठमाडौं उपत्यकाका तीन जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै १० हजार प्रहरी परिचालन गरिएको छ । मान्छेको अत्यधिक चाप र दशैं मनाउन गाउँ जाँदा घर र कोठा रित्तो हुने हुँदा चोरी बढ्न सक्ने भन्दै तीन जिल्लामा थप जनशक्ति परिचालन गरिएको हो ।
काठमाडौंमा मात्रै दशैंमा हुनसक्ने अपराधलाई रोक्न १४ वटा एरियामा डीएसपीको कमाण्डमा १० जनाको टोली परिचालन गरिएको छ । दुई रुटमा लङ रेञ्ज गस्ती, ४२ रुटमा सर्ट रेञ्ज गस्तीको व्यवस्था मिलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले बताए ।
प्रहरीले दशैंका बेला चोरी, डकैती, कुटपिट जुवातास, मदिरा सेवन गरी झैझगडा हुने जस्ता घटना हुने अनुमान गरेको छ । शहरी इलाकाहरुमा चोरी बढ्न सक्ने प्रहरीको आँकलन छ । सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघनजस्ता अपराध हुन सक्ने भन्दै सोही अनुसार सुरक्षा रणनीति बनाइएको छ । चाडपर्व लक्षित सुरक्षा व्यवस्था चुस्त पारिएकाले ढुक्क भएर दशैं मनाउने अवस्था रहेको डीआईजी कार्कीको भनाइ छ ।
