Sunday, May 17News That Matters

दाल, तेल र गेडागुडीको मूल्य बढ्यो

पूर्णपुष्टि, असोज २३

दशैँको नजिकिएसँगै खाने तेल, दाल र गेडागुडीको भाउ बढेको छ ।
दालमा प्रतिकिलो १० रुपैयाँ, हरियो केराउमा ३५ रुपैयाँ तर तेल प्रतिलिटरमै १५ रुपैयाँभदा धेरैले बढेको खुद्रा व्यापार संघले जनाएको छ ।

लकडाउनले उद्योग बन्द हुँदा बजारको माग अनुसार उत्पादन नभएकाले भाउ बढेर आएको होलसेलले बताउने गरेको संघले जनाएको छ ।

लकडाउनअघि १५ सय ८० रुपैयाँमा पाइने एक दर्जन सनफ्लावर तेलको मूल्य अहिले १६ सय २० रुपैयाँ नाघेको छ । पहिले एक लिटर तेलका लागि १ सय ५६ रुपैयाँ पर्नेमा अहिले होलसेलले १ सय ६३ रुपैयाँ नघाएको संघले जनाएको छ । यस अघि २ सय ५५ रुपैयाँ प्रतिलिटरमा पाइने तोरिको तेलको मूल्य २ सय ६५ सम्म पु¥याइएकोे छ ।

तेलको प्याकेटमा एमआरपी २ सय ७० लेखेका कारण धेरै ठाउँमा सोहीअनुसार मूल्य कायम भएको हुन सक्ने संघको अनुमान छ । १ सय ६० रुपैयाँमा पाइने भटमासको तेलको भाउ लिटरमै पाँच रुपैयाँ बढेको छ ।
मासको कालो दाल प्रतिकिलो १ सय ३५ बाट बढेर १ सय ४५ रुपैयाँ पुगेको छ । त्यस्तै मुसुराको रातो दाल किलो मै १० रुपैयाँले बढेको छ ।

फ्याक्ट्रीमा ६ महिना अगाडि बनेको उत्पादनमा धेरै अधिकतम् खुद्रा मूल्य राखेर पछि बिस्तारै होलसेलले मूल्य बढाउँदै लगेको साना व्यवसायीहरु बताउँछन् ।

तर नेपाल तेल, दाल, चामल संघले भने अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको भाउ बढेको र माग पनि उच्च हुँदा मूल्य बढेको दाबी गरेको छ । ‘तेल, दाल, गेडागुडीको मूल्य केही बढेकै हो तर चामलको मूल्य भने घटेको संघले जनाएको छ ।

नेपालमा तेल, दालको कच्चा पदार्थ धेरै मात्रामा विदेशबाट आयात हुने गरेको र अन्तर्राष्ट्रिय बजारमा परेको असर नेपालमा देखिएको संघले जनाएको छ । पहिले १५ सय बोरामा बिक्री हुने चामलको भाउ अहिले १३ सयमा झरेको जनाईएको छ ।