
पूर्णपुष्टि, २४ पौष ।
हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको कारण दुई दिन देखी लगतार बढेको चिसोले जनजिवन कष्टकर बनेको छ । नेपालका बिभिन्न स्थानहरु सहित उदयपुरको सदरमुकाम गाईघाट लगायत बिभिन्न ठाउँमाहरुमा पनि दुई दिन देखी लगतार चिसो फैलिएको छ ।
बिहानैदेखी हुस्सु सँगै चिसो बढेको अवस्था छ । चिसो र हुस्सुले दैनिकी काममा प्रभाव परेको छ । चिसोले पठनपाठनमा पनि समस्या तुल्याएको छ । विद्यालय जान र विद्यालयबाट फर्किन चिसोले समस्या पारेको हो । चिसो छल्न मानिसहरु घरबाट कमै निस्कनु पर्ने भएको छ । अथवा सार्वजानिक स्थान वा सडकमा आगो बालेर पनि चिसो छल्दै आएको छ । बिहानिको अत्यावश्यक समय सम्म हुस्सुले प्रभावित बनाएको छ । हुस्सुले सवारी दुर्घटनाको समेत जोखिम बढेको छ । हाईवे सडक तथा अन्य सडकहरुमा बाटो नै नदेखीने गरी हुस्सु फैलिएको अवस्था छ । मंगलबार बिहान कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत् अद्यावधिक गरेको छ। तराईका अधिकांश भू–भागहरूमा यतिबेला हुस्सुरकुहिरो लागेको अवस्था रहेको उसले बताएको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले बताएको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको बुलेटिनमा उल्लेख छ।
