Tuesday, June 30News That Matters

दुई पटकको उपाधी विजेता वेस्ट इन्डिजले विश्वकपका लागी १० देशसँग छनोट खेल्ने

पूर्णपुष्टि, चैत्र २० दुई पटकको उपाधी विजेता वेस्ट इन्डिजले विश्वकपका लागी १० देशसँग छनोट खेल खेल्नु पर्ने भएको छ । सन् १९७५ र १९७९ को विश्वकप विजेता वेस्ट इन्डिजले अब विश्वकपमा स्थान बनाउन १० देशसँग छनोट खेल खेल्दै शिर्ष दुईमा स्थान बनाउनु पर्नेछ ।

विश्वकपको छनोटको रुपमा रहेको आइसिसी विश्वकप सुपर लिगमा आईतबार दक्षिण अफ्रिकाले तीन खेलको एकदिवसीय सिरिजमा नेदरल्यान्ड्सलाई २–० ले पराजित गर्दै आठौ स्थानमा उक्लिदैँ छनोट हुने सम्भावना बलियो बनाएको छ भने वेस्ट इन्डिजले भने छनोट खेल खेल्नु पर्ने भएको छ ।

आइसिसी एकदिवसीय विश्वकप क्रिकेट २०२३ भारतमा हुने विश्वकपको लागी सुपर लिगका शीर्ष आठ टिम छनोट हुने प्रावधान रहेकोले दक्षिण अफ्रिकाको सम्भावना बलियो भएको हो । विश्वकप २०२३ मा आयोजक भारतसहित सुपर लिगको शीर्ष टिम न्युजिल्यान्ड, इंग्ल्यान्ड, बंगलादेश, पाकिस्तान, अस्ट्रेलिया र अफगानिस्तान गरी सात टिम छनोट भइसकेका छन् भने एक टिमको टुङ्गो लाग्न बाकीँ छ ।

अब आठौं स्थानको दक्षिण अफ्रिका र एघारौं स्थानको आयरल्यान्ड मध्ये एक टिम मात्र विश्वकपमा छनोट हुनेछ। आयरल्यान्डले मेमा बंगलादेशसँग तीन खेल खेल्न बाँकी रहेकाले उसको पनि छनोट हुने सम्भावना छ। तिनै खेलमा बंगलादेशमाथि जित निकाले मात्र आयरल्यान्डले विश्वकपमा स्थान बनाउनेछ।

यसअघि १९९६ को विश्वकप च्याम्पियन श्रीलंकाले पनि विश्वकपमा सिधा स्थान बनाउन असफल भएको थियो । विश्वकप छनोटमा नेपालले पनि प्रतिस्पर्धा गर्दैछ। जहाँ नेपालसहित वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, नेदरल्याण्ड्स, स्कटल्यान्ड र ओमान गरी ७ टिमले खेल्ने पक्का भइसकेको छ।

छनोटमा प्रतिस्पर्धा गर्ने १० मध्ये बाँकी ३ टिमको टुंगो लाग्न बाँकी छ। सुपर लिगबाट एक टिम र प्लेअफ क्वालिफायरबाट दुई टिम विश्वकप छनोटमा पुग्न बाँकी छ। प्लेअफ क्वालिफायर नामिबियामा जारी छ । विश्वकप छनोटमा १० टिमलाई दुई समूहमा विभाजन गरी शीर्ष तीन– तिन टिम सुपर सिक्समा पुग्नेछन् र शीर्ष दुई टिम विश्वकपमा छनोट हुनेछन् ।