
पूर्णपुष्टि, जेष्ठ १९
एकै दिन दुई बालिका बलात्कृत भएका छन् । विभिन्न स्थानको दुई बालिका जबरजस्ती करणीमा परेका हुन् ।
नौं वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीको इटहरी उपमहानगरपालिका–३ सुनौलो टोलका ६७ वर्षीय भविराज दमाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
भविराजले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
त्यस्तै पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिकाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोदावरी–३ मोतिचौर बस्ने सप्तरी सोम्भुनाथ नगरपालिका–२ घर भएका २० वर्षीय राम आशिस सदालाई प्रहरी पक्राउ गरेको हो । उनलाई पनि मंगलबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
गोदावरी नगरपालिका–३ मोतिचौरको निर्माणाधिन होटेल भवनभित्र सदाले आइतबार साँझ ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग बाडेगाउँबाट खटिएको प्रहरीले सदालाई पक्राउ गरेको हो ।
यसैगरी, आफ्नै १४ वर्षीया छोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा काठमाडौं महानगरपालिका–१५ डल्लु बस्ने गोरखा घर भएका ३८ वर्षीय पुरुषलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
डरत्रास धाकधम्की दिई यौन दुर्व्यहार गरेको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
१३ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा सूर्यविनायक नगरपालिका–७ गुण्डु बस्ने ५० वर्षीय हरिकृष्ण कोजुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
