
पूर्णपुष्टि, २५ भदौ ।
देउरीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको २० औँ साधारण सभा भव्य रुपमा सम्पन्न भएको छ । त्रियुगा नगरपालिका ५ देउरी स्थित साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाले बार्षिक प्रतिवेदन समेत प्रस्तुत गरेको छ । संञ्चालक समितिका अध्यक्ष समेत रहेका देव कुमार राईले बार्षिक गतिविधिका सबै कामकार्वाहरुहरुको जानकारी सदस्यहरुलाई गराएको छ ।
राईका अनुसार आर्थिक बर्ष २०८९/०८० मा संस्थाले लिएको लक्ष्य अनुरुप संस्थालाई प्रगतिमय बनाएको जनाए । यस आर्थिक बर्षमा संस्थाले चार करोड ३० लाख ५९ हजार बराबरको आम्दानी गरेकोमा दुई करोड ९८ लाख दश हजार खर्च घटाई एक करोड ४० लाख माथी नाफा समेत गर्न सफल भएको अध्यक्ष राईले जनाए ।
राईका अनुसार संस्थाले बिषेशगरी पशुपालन र कृषिमा लगानी गर्ने गरेको जनाए । त्रियुगा नगरपालिका भरीको १२ ओटा वडाहरुका कृषकहरु यस समूहमा जोडिएको राईको भनाई छ । १, ११, १५ र १६ बाहेक सबै वडाहरु यस संस्था सँग जोडिएको राईले जनाए । हाल संस्थामा २१७५ जना सदस्यहरु आबद्ध रहेको बार्षिक प्रदिवेदनमा उल्लेख छ । जसमध्ये समूह संख्या ४४९ र सदस्य संख्या भने झण्डै २२ सयको हाराहारीमा रहेको छ ।

संस्थाले सदस्यहरुले पाउने सेवा सुविधा र भैपरी आउने सेवासुविधाहरु पनि समयमै व्यवस्था गरेको छ भने सामाजिक क्षेत्रमा पनि संस्थाको सहयोग रहेको प्रतिवेदनमा उल्लेख छ । कोरोना माहामारीको कारण आर्थिक चपेटामा परेको अवस्थामा अहिले भने केहि सहजताका साथ संस्थाले काम गर्न थालेको बताईएको छ ।
यस बर्ष संस्थाको गतिविधि अन्तर्गत समूह तालिम, बित्तिय शिक्षा तालिम, अन्तर समूह सुदृढिकरण तालिम, ५३ ओटा समूह थप्दै २२९ सदस्य थप र तिन ओटा बिहाडे बोका समेत सदस्यलाई उपलब्ध गराएको छ भने ९५ हजार बराबरको सामाजिक सुरक्षा भत्ता समेत बितरण गरिएको छ ।
संस्थाले अर्को बर्षका लागि बिभिन्न उदेश्य सहित थप प्रगतिको लक्ष्य राखेको छ । संस्थाको आम्दानीलाई ६ करोड हाराहारीमा पुराउने र दुई करोड बराबरको खुद नाफा संस्थालाई दिलाउने लक्ष्य रहेको अध्यक्ष राईले जनाए । त्यसका लागि समूह थप, सदस्य थप, ऋणी सदस्य बृद्धि, शेयर पुँजी संकलन, निक्षेप संकलन, ऋण लगानि, ऋण असुलि, ब्याज असुलि ल.र.र, र असुली दर जस्ता कामहरु गर्ने संस्थाको पहिलो लक्ष्य रहेको छ । साधारण सभाको उद्घाटन प्रदेश सांसद हिमाल कार्कीले गरेका थिए ।


