Wednesday, April 22News That Matters

देशको प्रमुख नदीहरूमा बाढीको खतरा, सतर्कता अपनाउन आग्रह

पूर्णपुष्टि, असार २२ । देशको विभिन्न प्रमुख नदीहरूमा बाढीको खतरा बढेको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले आज दिएको जानकारी अनुसार, देशका कैयौं नदीहरूमा जलस्तर खतराको तहभन्दा माथि पुगेको छ।

सिन्धुपाल्चोकको मेलम्ची नदीमा जलस्तर खतराको तह नाघेर झन्डै ५ मिटर पुगेको छ। यस्तै, भक्तपुरको हनुमन्ते खोला, बागमती नदी र नारायणी नदीमा पनि बाढीको मात्रा उल्लेख्य रूपमा बढेको छ। नारायणी नदीको देवघाट स्टेशनमा जलस्तर ८.४ मिटर मापन गरिएको छ, जुन खतराको तह ७.३ मिटरभन्दा धेरै माथि छ। लमजुङको मर्स्याङ्दी नदी र कोशी नदीमा पनि बाढीको खतरा देखिएको छ। विभागका अनुसार, देशका ४१ स्थानमा भारी वर्षा भइरहेको छ, जसले गर्दा नदीहरूमा पानीको बहाव बढ्ने क्रम जारी छ।

यी परिस्थितिहरूलाई मध्यनजर गर्दै, जल तथा मौसम विभागले नदी किनारका बासिन्दाहरूलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ। विशेषगरी मेलम्ची, इन्द्रावती, सुनकोसी, हनुमन्ते, बागमती र नारायणी नदी क्षेत्रका जनतालाई उच्च सावधानी अपनाउन भनिएको छ।

स्थानीय प्रशासन र सुरक्षा निकायहरूलाई सम्भावित बाढी र पहिरोको जोखिमप्रति सचेत रहन र आवश्यक सुरक्षा उपायहरू अपनाउन सुझाव दिइएको छ। साथै, सर्वसाधारणलाई नदी किनार नजिक नजान र आपतकालीन अवस्थाका लागि तयार रहन अनुरोध गरिएको छ। मौसम विभागले आगामी केही दिन पनि वर्षा जारी रहने पूर्वानुमान गरेको छ, त्यसैले सम्बन्धित सबै पक्षलाई सतर्क रहन आग्रह गरिएको छ।