Friday, July 17News That Matters

देशभर पूर्वी र मध्य भूभागहरुमा मनसुनको प्रभाव, आज यी प्रदेशमा वर्षाको सम्भावना

पूर्णपुष्टि,असार २ । हाल देशभर मनसुनी वायु फैलिंए संगै त्यसको प्रत्यक्ष प्रभाव पूर्वी तथा मध्य भू–भागहरुमा प्रभाव बढेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव छ।

आज विहान कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ–गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । काठमाडौं उपत्यकामा पनि दिउँसोसम्म मौसम बदली भइ हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् गोविन्द झाले जानकारी दिए।

महाशाखाका अनुसार रातीपनि कोशी प्रदेशको एक-दुई स्थानमा भारी बर्षाको समेत सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ।