Friday, May 1News That Matters

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

पूर्णपुष्टि, साउन ३० ।  जल तथा मौसम विज्ञान विभागले बुधवार देशभर साधारणतया बदली रहने र सबै प्रदेशमा वर्षाको सम्भावना रहेको जनाएको छ। विशेषगरी कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी दिइएको छ।

बुधवार दिउँसो र राति देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान गरिएको छ। सबै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उल्लेखित चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। साथै मेघगर्जन र चट्याङको पनि पूर्वानुमान गरिएको छ।

विभागले भारी वर्षा हुने क्षेत्रमा बाढीपहिरोको जोखिम रहेको जनाएको छ। यसले दैनिक जीवन, कृषि, स्वास्थ्य, पर्यटन, यातायात लगायत क्षेत्रमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ। विगत ६ घण्टामा कोशी प्रदेशको मोरङ, धनकुटा र गण्डकी प्रदेशको लमजुङ आसपास मध्यमदेखि भारी वर्षा भएको छ। त्यसैगरी कोशी, मधेस, वाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका विभिन्न भागमा पनि वर्षा भएको विभागले जनाएको छ।