Friday, May 1News That Matters

वाइडबडी खरिद विवादले नयाँ जहाज खरिद प्रक्रिया अवरुद्ध

पूर्णपुष्टि, साउन ३० ।  नेपाल वायुसेवा निगमले अघि बढाएको तीन वटा ट्वीनअटर जहाज खरिद प्रक्रिया बिचमै रोकिएको छ। यसअघिको वाइडबडी जहाज खरिदमा भ्रष्टाचार भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध मुद्दा दायर गरेपछि नयाँ खरिद प्रक्रिया प्रभावित बनेको हो।

अख्तियारले गत चैत २२ गते १ अर्ब ४७ करोड बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। यसमा निगमका पूर्व अध्यक्ष शंकरप्रसाद अधिकारी, प्रबन्ध निर्देशक सुगतरत्न कंसाकार र नायब महाप्रबन्धक जनक कालाखेती समेत मुछिएका छन्।

निगम स्रोतका अनुसार, जहाज खरिद उपसमितिका पदाधिकारीहरू नै मुद्दामा परेकाले अन्य कर्मचारी पनि त्रसित छन्। यसले गर्दा पछिल्लो जहाज खरिद प्रक्रिया अलपत्र परेको छ। निगमले गत अक्टोबरमा तीन वटा ट्वीनअटर जहाज खरिदका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। हिन्दुस्तान एओरोनोटिकल लिमिटेड (भारत), डी हाविल्याण्ड (क्यानडा) र एयरक्राफ्ट इन्ड्रस्ट्रिज (चेक रिपब्लिक) ले आवेदन दिएका थिए। तर वाइडबडी खरिद विवाद बल्झिएपछि यो प्रक्रिया रोकिएको छ।

यसैबीच, निगमले भाडामा जहाज ल्याउने योजना पनि अन्योलमा परेको छ। निगमले दुई वटा न्यारोबडी जहाज भाडामा लिने प्रक्रिया अघि बढाएको थियो। तर अख्तियारको मुद्दाले यो प्रक्रिया पनि प्रभावित भएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए।